देउखुरी,साउन १० । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्मा (प्रभाकर) ले पार्टी पदाधिकारीमा कुनै विवाद नभएको बताएका छन् ।
माओवादी केन्द्र लमही नगर कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रममा स्थायी समिति सदस्य शर्माले महासचिवको विषयमा विवादका कारण पदाधिकारी टुङ्गो लाग्न नसकेको भन्नु निराधार भएको बताए ।
उनले भने ‘अझ अनन्त र मेरो नाम जोडेर विवाद छ भन्ने कसैलाई लाग्या छ भने त्यो पटक्कै होइन, त्यो दिमागबाट निकाली हाल्नुस ।’
नेता शर्माले पदाधिकारी टुङ्गो लगाउनको लागि आफु र बर्षमान पुन (अनन्त)ले पार्टी अध्यक्ष प्रचण्डलाई आग्रह गरेको र अध्यक्षले दिएको जिम्मेवारीमा आफुहरुको सहमति हुने कुरा बताएको उल्लेख गरे ।
कार्यकर्र्ताले राखेका जिज्ञासा हल गर्दै शर्माले समाजवादमा विश्वास गर्नेहरुको प्रगतिसिल दलहरुको एकता गरी बैकल्पिक शक्ति निर्माण गर्ने बताए ।
समाजवादी केन्द्र निर्माण गर्ने विषयमा बाबुराम, माधव, बामदेव लगायत अन्य बामपन्थी शक्तिहरुको विचमा छलफल चलेको भएपनि अन्तिम टुङ्गो लागि नसकेको उनले जानकारी दिए ।
निवर्तमान अर्थमन्त्री शर्माले माक्सवादलाई कलात्मक ढङ्गबाट लागु गर्नु नै अहिलेको आवश्यकता भएको बताए ।
माक्सवादलाई कलात्मक ढङ्गबाट लागु गर्दै त्यसको लागि माओवादीले जितेका पालिका र वडामा काम गरेर देखाउन समेत उनको आग्रह थियो ।
नेपालबाट दुइबर्ष भित्र गरिवी हटाउने गरी बजेट निर्माण गरिएको र बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै उनले आफुले ल्याएको बजेट बैज्ञानिक भएको दावी गरे ।
कोइलाबास नाकाको स्थलगत निरीक्षण
शर्माले कोइलावास भन्सार कार्यालय र कोइलाबास नाकाको स्थलगत अवलोकन गरेका थिए ।
कोइलाबास नाका संचालनको लागि दुई देशबीच सहमति हुनुपर्ने र त्यसको लागि प्रयास भइरहेको उनले बताए ।
‘यो नाका पूर्णरुपमा संचालनमा आउन जरुरी छ ।
त्यसको लागि मैले पनि पहल थालेको छु,’ उनले भने ‘ कोइलाबास क्षेत्रको उत्तर तर्फको जंगली क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने अवस्था छ ।’
भारतीय पर्यटकलाई आकर्षण गर्नको लागि उत्तरका पहाडमा सेवा सुविधासहित पार्क निर्माण गर्न जरुरी रहेको उनले बताए ।
नेता शर्मा नेकपा माओवादी केन्द्रकी नेतृ लमही नगरपालिका वडा नं. ५ की द्रोपदा पौडेलको निधनमा श्रदाञ्जली ब्यक्त आएका थिए ।