काठमाण्डौ,साउन ३ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यकाल आउँदो चुनावको मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताएका छन ।
आज सोमवार सिंहदरबारमा पत्रकारहरूसँग भेटघाट गर्दै सभामुख सापकोटाले वर्तमान प्रतिनिधि सभाको कार्यकाल आउँदो प्रतिनिधि सभाको चुनावका लागि मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताएका हुन ।
उनले आइतवार प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र आफूबीच छलफल चलेको भन्दै सबैको बुझाइ मनोनयन दर्ता गर्ने दिनसम्म रहन्छ भन्ने रहेको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयमा छलफल गर्दै जाने र छलफलबाट आएको निष्कर्षअनुसार गर्ने भन्नुभएको सभामुख सापकोटाले जानकारी दिए ।
सभामुख सापकोटाले प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा संविधानविद्हरूसँग छलफल गर्नु आवश्यक रहेको पनि बताए ।