दाङ,जेठ १९ । दाङमा रासायनिक मलको अभाव देखिएको छ । सरकारले समयमै रासायनिक मल उपलब्ध नगराउँदा यस वर्ष पनि मलको अभाव देखिन थालेको हो । जिल्लामा रहेक वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव हुँदै आएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाका अनुसार जिल्लामा हाल ४ सय ७ मेट्रिक टन डिएपी मल मात्रै स्टक रहेको छ । तर युरिया मल भने जिल्लामा नै अभाव रहेको छ । समयमै पर्याप्त मात्रामा मल नआउँदा मल वितरणमा समस्या भइरहेको शाखाले बताएको छ । जिल्लामा यस वर्ष जम्मा ४० प्रतिसत मात्रै रासायनिक मल वितरण गरिएको छ ।
खेतीपातीको सिजन शुरू भएपनि केन्द्रबाटै मल नआउँदा जिल्लामा कृषकलाई मल वितरण गर्न कठिन भएको घोराही शाखाले जनाएको छ । धान खेती गर्न घोराही क्षेत्रका लागि एक हजार दुई सय मेट्रिक टन युरिया र आठ सय मेट्रिक टन डिएपी आवश्यक पर्छ । तर आवश्यकता पूरा गर्ने मल कृषि सामग्री कम्पनीसँग नभएको कम्पनीका घोराही शाखा प्रमुख टोपाराम गौतमले जानकारी दिए ।
अहिले गोदाममा मल नभए पनि यस अघि कृषकले प्रसस्त मात्रामा खरिद गरेर लगेको मल ढुक्कका साथ प्रयोग गर्न आग्रह गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखा प्रबन्धक टोपाराम गौतमले असार पहिलो हप्ता मल आउने हुँदा आगामी दिनमा मल अभाव नहुने बताए ।
घोराहीमा आउने रासायनिक मल रोल्पा, रूकुम पश्चिम र तुलसीपुरमा आएको मल सल्यानसम्म वितरण गरिँदै आइएको छ । जिल्लामा खेतीयोग्य कूल २९ लाख पाँच हजार ५ सय हेक्टर जमिनमध्ये खेतीयोग्य जमिन ६९ हजार ९ सय ५० हेक्टर रहेको छ । जसमध्ये ६५ हजार ९ सय ८० हेक्टर जमिनमा मात्र खेती हुने गरेको छ ।
रूस र युक्रेनबीचको युद्धका कारण रासायनिक मल आयातमा रोक लागेपछि मल अभाव भएको सरकारको भनाइ छ । जसका कारण नेपाल सरकारले हाललाई भारत सरकारसँग जीटूजी मार्फत मल खरिद प्रक्रिया अघि बढाएको जनाएको छ ।
