२०७७ मङ्सिर १४ गते आइतवार

दाङलाई राजधानी बनाउन सम्पूर्ण एक भएर संघर्षमा उत्रनुपर्ने – सभामुख महरा

संघीय संसदका सभामुख कृष्णबहादुर महराले दाङलाई प्रदेश राजधानी बनाउन सम्पूर्ण दाङवासी एक भएर संघर्षमा उत्रनुपर्ने बताएका छन्।

शनिबार तुलसीपुरमा सम्बोधन गर्दै सभामुख महराले दाङलाई राजधानी बनाउने हो भने संघर्षको अर्को रूप उठाउनुपर्ने तर्क गरे।

‘राजधानीको बारेमा तत्कालीन समयमा मेरो स्टेटमेन्ट हेर्नुहोस् त्यहाँबाट धेरै छर्लंग हुन्छ त्यसका लागि मेरो कहाँसम्म कोशिस भएको थियो, त्यो प्रदेश सांसद डिल्लीजीलाई अलिकति थाहा छ,’ महराले भने।

प्रदेशको स्थायी राजधानी तोक्ने जिम्मा प्रदेशसभालाई भए पनि संघीय संसदका सभामुख समेत रहेका महराले दाङ आउँदा यसअघि पनि यस्तै विवादित अभिव्यक्ति दिएका थिए ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका उपप्रधानमन्त्री समेत रहेका सभामुख महराले दाङलाई राजधानी बनाउन आफूले धेरै कोशिस गरेको भए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय चलखेलले गर्दा बुटवल अस्थायी राजधानी तोकिएको भन्दै असन्तुष्टि पोखे। त्यतिबेलाको सबैकुरा अहिले आएर आफूले नभन्ने बताएका सभामुख महराले दाङलाई स्थायी राजधानी बनाउन संघर्षको अर्को रूप उठाउन आग्रह गरेका हुन्।

‘दाङ हरेक दृष्टिकोणले उपयुक्तस्थल छ र बुटवल अस्थायी मात्रै हो, हामी एक भएर संघर्ष गरे दाङ नै राजधानी हुन्छ,’ महराले भने।

दाङलाई मात्रै राजधानी चाहिएको नभइ बर्दिया, पूर्वी रुकुम, नवलपरासी लगायतलाई राजधानी चाहिएको हुँदा कुटनीतिक रूपमा उनीहरूलाई दाङतर्फ आकर्षित गर्ने गरी संघर्ष गर्न आवश्यक रहेको महराले बताए।

दाङको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका महराले त्यसका लागि दाङको भालुवाङदेखि पश्चिम गंगटेसम्मका सबै जनता एकतावद्ध भएर संघर्षमा उत्रन आवश्यक रहेको बताए।

अर्को प्रसंगमा सभामुख महराले त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि ठूलो विमान अवतरण गर्न नसकेर ढाका र डिल्ली जाने गरेको हुँदा त्यस्ता ठूला विमान अवतरण गर्न सक्ने अन्तर्राष्ट्रिय एयरपोर्ट दाङमा निर्माण गर्न लागेको बताए।

‘त्यस्तो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विकल्प दाङ बाहेक अन्त कतै छैन, भूगोल प्रशस्तै छ अनि सुरक्षाको दृष्टिकोणले अति नै सुरक्षित स्थान छ,’ महराले भने।

उनले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनिएका जनतालाई नआत्तिन आग्रह गर्दै उनीहरूको बन्दोबस्ती र मुआब्जाको उचित प्रबन्ध गरिने बताए। त्यस्तै, उनले दाङको टरिगाउँ एयरपोर्टलाई डोमेस्टिक एयरपोर्टका रूपमा विकास गरिने गरी योजना बनेको बताएका थिए।

प्रकाशित मिति : २०७५ असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *