तुलसीपुर,बैशाख २७ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार लबरु चौधरीको निधन भएपछि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
नयाँ निर्वाचन तालिका अनुसार एमालेका लागि मात्रै बुधबार बिहान दश बजेदेखि एक बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालका अनुसार बिहीबार बेलुका पाँच बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने भएको छ ।
निर्वाचन अधिकृत अर्यालका अनुसार बैशाख ३१ गतेदेखि मौन अबधि सुरु हुने छ । तुलसीपुर – १७ को हकमा बैशाख ३१ गते मध्य रातिसम्म प्रचार प्रशार गर्न पाइने छ ।
त्यसपछि मौन अबधि सुरु हुने छ । त्यस्तै जेठ तीन गते मतदानको समय तोकिएको छ ।
नेकपा एमालेको उम्मेदवारको मृत्यु भएको हुँदा एमालेको हकमा मात्रै यो नियम लागु हुने छ ।
स्रोतका अनुसार नेकपा एमालेका महासचिव शंकर पोखरेलको शिफारिसमा एमालेले बुधबार नयाँ उम्मेदवार नाम सिफारिस गर्ने भएको छ । तुलसीपुर पोखरेलको गृह नगर हो ।
शिक्षण पेशामा आवद्ध रहेको स्वर्गिय लबरुवा कान्छा छोरा प्रकाश चौधरीको नाम एमालेले वडाध्यक्षको रुपमा सिफारिस गर्न सक्ने संभावना रहेको स्रोतले बताएको छ ।
रोगका कारण एमालेका अध्यक्ष पदका उम्मेदवार चौधरीको निधन भएपछि बैशाख ३० गते स्थानीय तहको निर्वाचन भएपनि तुलसीपुर उपमहानगरपालिकामा जेठ ३ गते स्थानीय तहको निर्वाचन वडा नं. १७ मा पुरा भएपछि मात्रै मतगणणा हुने भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरको सरकारी वकिलको कार्यालयमा आएर मनोनय दर्ता लगाएका कार्यक्रमहरु हुने छन् ।