२०८३ असोज २९ गते बिहिवार

भाउ बढेसँगै सुनको कारोबार घट्यो

काठमाण्डौ,बैशाख ४ । सुनको कारोबार घटेको छ । भाउ बढेसँगै सिजनको बेलामा पनि सुनको कारोबार घटेको हो ।

कोरोना भाइरसको महामारी अघि वैशाख महिनामा सुनको कारोबार दैनिक ५० किलोसम्म हुने गरेको थियो ।

तर, कोरोनाका कारण पोहोर र परार सालको वैशाखमा सुनको कारोबार ठप्प जस्तै भएको थियो । कोरोनाको जोखिम कम भएसँगै विवाह व्रतबन्ध सुरु भएपछि सुनको कारोबार हुन थालेको थियो ।

अहिले विवाहको लगन भए पनि भाउ बढेका कारण २५ देखि ३० प्रतिशतले कारोबार घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । विवाह, व्रतबन्धको लगन भएका बेला दैनिक ५० किलोसम्म सुनको कारोबार हुने गरेकोमा अहिले २५ देखि ३० प्रतिशतले घटेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

यस्तै, आयात रोकिँदा अहिले बैंकमा सुनको मौज्दात सकिएको छ । गएको चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएपछि आयात रोकिएको हो । यसले गर्दा बैंकहरुमा मौज्दात सकिएको शाक्यले बताए ।

चैत २१ गते अघिसम्म बैंकहरुले दैनिक १० किलो सुन आयात गर्थे । अहिले आयात रोकिँदा नयाँ गरगहना बनाउन समस्या पर्ने भएको छ ।

तत्काललाई माग अनुसारको गरगहना बनाउन समस्या नदेखिए पनि आयात रोकिँदा आउने दिनमा असर पर्ने नेपाल सुन चाँदी व्यवसायी महासङ्घका शाक्यले बताए ।

यसैबीच, सुनको भाउ फेरि बढ्ने अनुमान गरिएको छ । सुनको भाउ अहिले तोलामा एक लाख दुई हजार रुपैयाँ छ ।

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *