२०८१ बैशाख १९ गते बुधवार

किसानलाई पशु सुत्केरी भत्ता वितरण

दाङ,माघ १५ । दाङको तुलसीपुर उपमहानगरपालिकाको १९ वडा मध्य वडा नं. १८ ले पशु सत्केरी भत्ता वितरण सुरु गरेको छ ।
वडा कार्यालयले सोमवार हेमन्तपुरमा आयोजित कार्यक्रममा पहिलो पटक पशु सुत्केरी भत्ता वितरण गरेको थियो । वडाले जिल्लामा पहिलो पटक पशु सुत्केरी भत्ता बितरण शुरु गरेको अध्यक्ष माधव वलीले जानकारी दिए । पहिलो चरणमा पशु सुत्केरी भत्ता बापत बंगुरपालक किसान मधुमाया जिसीलाई ५ हजार रूपैंया नगद प्रदान गरिएको वडा अध्यक्ष वलीले बताए । सुत्केरी भत्ताका साथै किसानलाई पौष्टिक आहारा तथा दाना समेत वितरण गरिएको छ ।

पशु फर्म दर्ता गरेका र बिमा गरेका किशानले मात्रै सुत्केरी भत्ता पाउने व्यवस्था गरिएको छ । बाख्रा, भेडा र बंगुर कम्तिमा ५ वटा र गाई र भैंसी कम्तिमा पनि ३ वटा पालेका किसानलाई पशु सुत्केरी भत्ता पाउने व्यवस्था गरिएको वडा अध्यक्ष वलीले बताए । बाख्रा,भेडा र बंगुरले बच्चा जन्माउँदा एक पटकमा ५ सयका दरले र गाईको हकमा एक हजार र भैंसी सुत्केरी हुँदा १ हजार ५ सय सुत्केरी भत्ता प्रदानगर्ने नियम लागु गरिएको वडा अध्यक्ष वलीले जानकारी दिए । जिल्लामा पशु सुत्केरी दिन थालेको यो नै पहिलो घटना हो ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ ले विभिन्न खाले बिपतमा परेका व्यक्तिहरुलाई समेत राहात वितरण गरेको छ । गत बर्षाको समयमा बर्षा र बाढीले घर पूर्णक्षति भएका गेहेन्द्रबहादुर खत्री र राजकुमार नेपालीलाई जनही ३५÷३५ हजार प्रदान गरिएको छ । त्यस्तै घरमा आंशिक क्षति भएका टोपबहादुर वलीलाई २० हजार राहात प्रदान गरिएको छ । केही दिन पहिले घरमा आगोलागी भएका अग्नी पीडित जपधन बुढा मगर र देबबहादुर खड्का र पहलबिर खड्कालाई जनही १५ हजार र घरमा सामान्य क्षति भएका भिमसरी रोकालाई १० हजार रुपैंया राहात प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७५ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *