
काठमाडौं, फागुन १ । पशुपति विकास कोष विरुद्ध बतास समूहले हालेको मुद्दामा अल्पकालिन अन्तरिम आदेश जारी भएको छ।
उच्च अदालत पाटनमा आइतबार भएको सुनुवाइ पछि न्यायाधीश नरिधर भण्डारीको एकल इजलासले त्यस्तो आदेश जारी गरेको हो ।
नेपाल– भारत मैत्री पशुपति धर्मशाला भाडामा लिएको होटेल आनन्द निषेधाज्ञा आदेशको माग गर्दै गत बिहीबार कोष विरुद्ध अदालत गएको थियो।
अदालतको आदेशमा अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म मिति २०७६ साल बैशाख ३० गतेको करार सम्झौता बमोजिम होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सृजना नगर्न भनिएको छ । अदालतले फागुन ९ गते दुवै पक्षलाई छलफलको लागि बोलाएको छ।
निवेदकको तर्फबाट अधिवक्ता लिलामणि पौडेल र अञ्जली रायमाझीले बहस गरेका थिए। सो रिट निवेदनमा बतास समूह अन्तर्गतको होटेल आनन्दले पशुपति विकास कोष लगायत १४ वटा निकाय र व्यक्तिलाई विपक्षी बनाएको थियो।
जस मध्ये दुई वटाले बाटाको म्याद बाहेक १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय पाटन मार्फत लिखित तथा अन्यले आफै वा आफ्नो कानुनी प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न सर्बौच्चले आदेश गरेको छ ।
