तुलसीपुर, २५ माघ । तुलसीपुरको टरिगाउँस्थित विमानस्थलको धावनमार्ग थप विस्तार गर्न भन्दै नागरिकस्तरबाट स्थलगत नापजांच सुरु भएको छ ।
तुलसीपुरमा रहेको हालको विमानस्थलको धावनमार्गको हालको ७ सय ५० मिटर लम्वाइलाइ बढाएर कम्तिमा तेह्रसय मिटर पुराउन सकेमा ठूला जहाजपनि अवतरण हुन सक्ने गराउन उदेश्यसहित धावनमार्ग बढाउनेका लागि नापजाँच सुरु भएको हो ।
तुलसीपुर उद्योग वाणिज्यसंघको अगुवाइमा भएको सर्वदलिय÷सर्वपक्षिय भेलाले नागरिकस्तर बाटै भएपनि एयरपोर्टको स्तरबृद्धिमा सरकारलाइ दवाव दिने निर्णय गरेको थियो ।
त्यसमा नगर प्रमुख घनश्याम पाण्डे, तुलसीपुरमा क्रियाशिल ९ राजनीतिक दलका प्रमुखहरु, दाङ उद्योग वाणिज्य संघका पदाधिकारी तथा एयरपोर्ट विस्तार क्षेत्रको सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।
त्यसै अनुरुप तुलसीपुर उद्योग वाणिज्यसंघको अगुवाइमा तुलसीपुरको विमानस्थलमै पुगेर सर्वपक्षिय÷सर्वदलिय टोलिले धावनमार्गको नामजाँंच सुरु गरेको हो । तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगीसहितको टोलिले मंगलवार विमानस्थलको धावनमार्गको उत्तरदक्षिण क्षेत्रको लम्वाइ फित्ता लगेर नापजांच गरेको हो ।
‘यो प्रारम्भिक अनुमानका लागि भएको नापजांच हो । अहिलेकै लोकेशनमा पनि धावनमार्ग विस्तार हुने प्रसस्तै सम्भावना छ,’ इन्जिनियर योगीले भने ‘ अन्य लोकेशनमा पनि विकल्प देखिएको छ ।’
दुवै विकल्पमा नापजाँच गर्दा कम्तिमा ४२ सिटे जहाजलाई अवतरण गर्नका लागि आवस्यक १३ सय मिटर लम्वाइको धावनमार्ग निर्माण हुन ठूलो धनरासी खर्चगर्नु नपर्ने पनि उनको भनाइ थियो ।
अहिलेको धावनमार्गलाई लोकेशन परिवर्तन गरेमा चिरो भाट्न समेत नपर्ने नापजाँचका सहभागीहरुले बताएका छन् । यद्धपी यसको अन्तिम प्राविधिक प्रतिवेदन भने एयरपोर्ट डिपीआरको अध्ययनपछि टुंगो लाग्ने इन्जिनियर योगीले बताए ।
यदी चिरो भाट्नैपर्ने अवस्थामा पनि स्थानिय सरकार र यहांका सरोकारवालाहरुले सहयोग गरे बाँकी काम संघीय सरकारको बजेटले सहजै हुन सक्ने पनि उनको भनाइ थियो ।
बास्तविक अवस्थाको अध्ययन विनै हचुवाका भरमा कहिले चिरोको हाउगुँजी, त कहिले दर्जनौं नागरिकहरुको उठिबास लाग्ने हल्लाका कारण पनि यो विमानस्थलको स्तरबृद्धिमा ढिलाइ भैरहेको छ । यसमा यहाँबाट प्रतिनिधित्व गर्ने नेताहरुको इच्छाशक्ति समेत नदेखिंदा संघीय सरकारलाइ दवाव सृजना हुन सकेको छैन ।
‘अव हामी एयरपोर्टको स्तरोन्नतिको मार्गमा अघि बढिसकेका छौं,’ तुलसीपुर उबासंघका अध्यक्ष रामप्रशाद चालिसेले भने ‘स्थलगत अध्ययनको प्रतिवेदनसहित हामी केहि दिनभित्रै नागरिक उड्ययन तथा पर्यटन मन्त्रालय र अर्थमन्त्रालयमा डेलिगेशन जाने तयारीमा छौं।’
उनले स्थलगत अध्ययन र अवलोकनविनै केही गलत अपबाफ फैलाएको बताए । तुलसीपुरको धावनमार्गको लम्वाइ होस वा चौडाइ विस्तार गर्न आवस्यक परे सामुदायिक वनको जग्गा उपलव्ध गराउन संपूर्ण उपभोक्ताहरु तयार रहेको तरुण सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शेषमणि भण्डारीले बताए ।
अघिल्लो स्तरबृद्धिकै क्रममा गलत तरिकाले धावनमार्गको लोकेशन बनाइएको हुँदा अहिले धावनमार्गको लम्वाइ बढाउन केही समस्या भएको भण्डारीको बुझाई छ ।
विसं २०११ शालदेखि नै हवाइसेवा सुरु भएको यो विमानस्थललाई स्तरोन्नती हुन नदिनका लागि नेपालगन्ज र भैरहवाको भूराजनीतिले निमोठिरहेको जानकारहरु बताउँछन् ।
यहाँको विमानस्थलको स्तरबृद्धि भएर सन्चालनमा आएको अवस्थामा भैरहवा र नेपालगन्जको व्यापार उल्लेखित मात्रामा घट्ने भएकाले पनि त्यहांका राजनीतिज्ञहरुबाट यो विमानस्थलको स्तरबृद्धिमा अवरोध सृजना गर्ने काम हुंदै आएको छ । जग्गा प्राप्तिका लागि साविकको हवाइ विभागकै स्वामित्वको जग्गा, संगै रहेको केही ऐलानी जग्गा, कपास विकाश समितिको जग्गा तथा आवस्यक परेको अवस्थामा सामुदायिक वनको जग्गा हुदाहुंदै पनि जग्गाको अभाव भन्दै विमानस्थलको स्तरबृद्धिमा राज्य मौन रहेको यहांका हजारौं नागरिकले बैकल्पिक रुपमा नेपालगन्ज र भैरहवाको विमानस्थलबाट हवाइसेवा लिइरहेका छन् ।
दाङकै एमाले नेता शंकर पोखरेल प्रदेश सरकारको मुख्यमन्त्री, दीपक गिरी संघीय सरकारको सिंचाइ मन्त्री तथा हाल पनि प्रदेश सरकारमा डिल्लीबहादुर चौधरी शहरी विकाश तथा पर्यटन मन्त्री बनेपनि टरिगाउँ विमानस्थलमा उनीहरुबाट अर्थपूर्ण पहल हुन नसकेको दाङबासीको बुझाई छ ।
यी सवै नेताहरुले पटक पटक आफैले नेपालगन्ज विमानस्थल र भैरहवा विमानस्थलको उपयोग गर्दै आएका छन् । यो आर्थिक बर्ष मुलुकका विभिन्न विमानस्थलको स्तरबृद्धिमा संघीय सरकारले बजेट विनियोजन गर्दै आएपनि यहांको विमानस्थलमा बजेट पार्न सरकारमा प्रतिनिधित्व गर्ने यहांका सांसदहरुले हैसियत राखेनन् । यो विमानस्थलको स्तरबृद्धिमा संघीय सरकार चालु आर्थिक बर्ष मौन बसेको छ ।
धावनमार्गको लम्वाइ थोरै भएकै कारण यहाँ नेपाल वायुसेवाको सानो जहाजमात्रै अवतरण गर्न सक्छ । सानो जहाज मात्रै यहाँ उडानभर्ने भएकाले भाडा पनि अन्यत्रका ठूला विमानस्थलको तुलनामा अत्यधिक महंगो छ । धावनमार्गको लम्वाइ कम भएका कारण अन्य नीजि कम्पनीका ठूला जहाजहरु यहां अवतरण गर्नसक्ने अवस्था छैन । धावनमार्गको लम्वाइ कम्तिमा २ सय ५० मिटर मात्रै भएपनि बढाएर स्तरोन्नति हुनसकेमा यहां बुद्धएयर, सीता, श्रीएयर, लगायतका नीजि एयरलायन्सका ७२ सिटसम्मका जहाजहरु यहां अवतरण गर्न सक्ने छन् ।
ठूअला जहाज अवतरण गर्ने भएकै कारण काठमाण्डौदेखि नेपालगन्जको भन्दा दाङको दुरी कम भएपनि भाडा अस्वाभाविक महंगो छ । नेपालगन्ज काठमाण्डौको भाडा करिव ३ हजारदेखि ५ हजार रुपैया मात्रै छ । तर दाङको भाडा भने बृद्धिहुंदै अव ९ हजार ३ सय रुपैया पुग्न थालेको छ ।