
दाङ, माघ २२ । प्यूठानको जिप दुर्घटनामा परि नेपाली काँग्रेस गौमुखी गाउँपालिकाका उपसभापति वसन्त खड्काको मृत्यु भएको छ । काँग्रेस गौमुखी गाउँपालिकाका ६ ओखरपाटामा भएको जिप दुर्घटनामा सोही वडाको लिवाङका ३९ बर्षीय उपसभापति खड्कासहित ८ जनाको मृत्यु भएको हो ।
घाइते बेहुला २५ बर्षीय दानबहादुर खड्काको बिहेबाट फर्किदै गरेका वसन्त, उनकी श्रीमति ३९ बर्षीया वसन्ती र उनीहरुकी ११ बर्षीया छोरी एलिशाको मृत्यु भएको छ ।
दानबहादुर वसन्तका अंकलका छोरा हुन । घर परिवार भित्रकै मानिसहरु मात्रै बिहेमा जाने कुरा भएको हुँदा सीमित मानिसहरु गएका थिए । दानबहादुरका बुवा आमा भने बिहेमा गएका थिएनन् । बेहुलाका सहोदर भाइ १७ बर्षीय नरेश खड्काको अवस्था गम्भीर छ । उनको भैरहवामा उपचार भइरहेको छ ।
त्यस्तै दुर्घटनाकी गम्भीर घाइते बेहुली १९ बर्षीया रीमा जिसीकी बहिनी नौ बाहिनी ६ लुङकी १८ बर्षीया बिपना जिसीको पनि मृत्यु भएको छ । बेहुलीको एउटा हात नै चुँडिएको छ ।
दुर्घटनामा नजिकका नातेदारहरु परेका छन् । काँग्रेस उपसभापति वसन्तका साला ३२ बर्षीय खिमबहादुर खत्री, बेहुला दानबहादुरकी दिदी २९ बर्षीया केशरी खड्का, वसन्तकी भाउजु ५२ बर्षीया नन्दी खड्काको मृत्यु भएको छ ।
जिप चालक ५२ बर्षीय बलबहादुर बुढा मगरपनि सोही गाउँ लिवाङकै हुन । ६ जना परिवार भित्रकै सदस्य र एक जना चालकसहित सात जना एकै गाउँका मानिसको मृत्यु भएको छ । जस्ले गर्दा लिवाङ गाउँमा सन्नाटा छाएको छ । गाउँ शोकमा डुबेको छ । दुलही अन्माउने तयारी भइरहेको घरमा शब निकाल्ने तयारी गर्न थालिएको छ ।
यो खवर तयार पार्दासम्म बेहुला बाहेक अन्य थप चार घाइते बेहुली १९ बर्षीया रीमा जिसी, २१ बर्षीया हरी बुढा मगर र २५ बर्षीया साबित्रा जिसीलाई पनि जिल्ला अस्पताल बिजुवारको प्रारम्भीक उपचार पछि थप उपचाकालागि बुटवल रेफर गरिएको छ ।