तुलसीपुर , माघ २१ । देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरण सम्बन्धि केहीदिन अघि संचारमाध्यममा आएको समाचारप्रति जिल्ला सहकारी संघ दाङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
सहकारीको महाप्रभु सेवाकेन्द्रको रकम अपचलन भएको र संचालकलाई पक्राउ गरेको संचार माध्यममा आएका समाचार भ्रमपूर्ण रहेको भन्दै संघले आपत्ति जनाएको छ ।
संघका अध्यक्ष गोविन्द प्रसाद शर्मा र सचिव शुक्रराज भण्डारीले शुक्रबार एक विज्ञप्ती जारी गरी सहकारीको रकम हिनामिनामा सम्बन्धित दोषिले स्वीकार गर्दागर्दै पनि सहकारीका संचालकलाई पक्राउ गरिएको र संचारमाध्यममा पीडितलाई झन् पिडा दिने किसिमले समाचार बाहिर आएको भन्दै आपत्ति जनाएका हुन ।
संघले कर्मचारीको कारण सहकारी संचालकलाई ५० लाख धरौटी मागेकोप्रति आपत्ति जनाएको छ ।
सहकारी संस्थाको रकम हिनामिना मुद्दामा केहि दिन अघि संस्थाका पदाधिकारी किरण भण्डारी र रुकमाङ्गत ज्ञवालीलाई ५०÷५० लाख धरौटीमा छोडिएको छ ।
कर्मचारीको गल्तीका कारण सहकारी संचालकलाई पक्राउ गर्नु न्यायसंगत छैन्, पूर्व संचालकलाई समेत पक्राउ गरी लाखौँ धरौटी माग्नु न्यायसंगत छैन्, यस्तो कार्यले सहकारीको अभियानमा नकारात्मक असर परेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।