दाङ, माघ २१ । हिउँदे बर्षा पछिको भारी हिमपातले रुकुम– बाँग्लुङ हुँदै पोखरा जोड्ने लोकमार्ग अवरुद्ध भएको छ ।
रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी गणेश श्रेष्ठका अनुसार भारी हिमपात पछि बिहीबारदेखि लोकमार्ग अबरुद्ध भएको हो ।
सडकमा बाक्लो हिउँ जमेका कारण सडक खण्डमा सवारी साधान सञ्चालनमा आउन नसकेको श्रेष्ठले बताए ।
यो भन्दा अघिल्लो हिउँदे बर्षा र हिमपातले अबरुद्ध उक्त लोकमार्ग सञ्चालनमा आएको चारदिन पछि फेरि भारी हिमपातका कारण अबरुद्ध बन्न पुगेको श्रेष्ठले जानकारी दिए ।
लुम्बिनी प्रदेशको एक हिमाली जिल्ला रुकुम पूर्वमा मध्यबर्ती लोकमार्ग लगभग हिउँदभर जस्तो हिमपातका कारण सवारी साधन सञ्चालन गर्न कठिन हुने गर्दछ ।
माथिल्लो भूभागका प्रहरी यूनिटहरु सम्पर्क बिच्छेद
जिल्ला प्रहरी प्रमुख श्रेष्ठका अनुसार जिल्लाको माथिल्लो भूभागमा रहेका प्रहरी यूनिटहरु संगको सम्पर्क बिच्छेद भएको छ ।
बाक्लो हिउँपात र चिसोका कारण टेलिकमको नेटवर्किङले काम गर्न छोडेपछि माथिल्लो भूगामा रहेका प्रहरी यूनिटसंग बिहीबारदेखि कुनैपनि फोन सम्पर्क हुन नसकेको श्रेष्ठले जानकारी दिए ।
पुथाउत्तरगंगा गाउँपालिका अन्तरगतका जिल्लाको माथिल्लो भूभाग मैकोट, तक्शेरामा रहेका प्रहरी यूनिटहरु संग सम्पर्क हुन नसकेको श्रेष्ठले बताए ।
अघिल्लो हिउँदे बर्षा र हिमपातका क्रममा स्थानीय सडक निर्माणमा खटिएका मजदुरहरु हिमपातमा फसेपछि नेपाली सेनाको हेलिकोप्टरले तीन दिन पछि उद्धार गरेको थियो ।
