काठमाडौं,माघ १६ । आज माघ १६ गते शहीद दिवस ।
वि.सं. १९९७ साल माघ १० गतेदेखि १५ गतेसम्म शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई तात्कालीन राणा शासकले मृत्युदण्ड दिएका हुँदा यिनै अमर व्यक्तित्वको सम्झनामा ‘शहीद सप्ताह’ मनाउने गरिएको छ ।
राणा शासकहरूले यी महान् शहीदहरूमध्ये शुक्रराजलाई माघ १० गते टेकु पचली, धर्मभक्तलाई माघ १३ गते सिफल तथा गङ्गालाल र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा झुन्ड्याएर गोली हानी मृत्युदण्ड दिएका थिए ।
विसं १९९७ सालमा तत्कालीन राणा शासनको विरोधमा उत्रने क्रममा ज्यानको आहुति दिन तयार भएका ती चार महान व्यक्तित्व अमर शहीद हुन् ।
त्यसपछिका लोकतात्न्त्रिक आन्दोलनहरुमा देश र नागरिकको पक्षमा निर्भयताका साथ ज्यानको बाजी लगाएर लोकतन्त्रको स्थापमा मद्दत पुर्याउनेहरु पनि शहीद हुन् ।
देश र नागरिकका लागि ज्यानको आहुति दिने व्यक्तिहरुसमेत शहीद हुन् ।
