
घोराही,माघ १३ । नेपालमा महामारीको रुपमा रहेको कोरोना भाईरस संक्रमणबाट बच्नका लागी नेपाल महिला सामुदायिक सेवा केन्द्रले सर्वसाधारणहरुलाई मास्कको प्रयोग गर्न सचेत बनाउन सुरु गरेको छ ।
केन्द्रले सर्वसाधारणहरुलाई मास्कको प्रयोग गर्न र मास्क प्रयोगबारे सचेत बनाउन सुरु गरेको हो ।
विभिन्न संघसंस्थासँगको समन्वयमा घोराहीको भानु चोकमा स्टल स्थापना गरेर मास्क नलगाएकाहरुलाई मास्क प्रयोग गर्न र प्रयोग गरेकाहरुलाई पनि सही तरिकाले मास्कको प्रयोग गर्नका लागी सचेत बनाउने काम भएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिव शिवा योगीले जानकारी दिइन ।

मंगलवारदेखी स्टल स्थापना गरेर एक हप्ते अभियान सुरु गरिएको उनले जानकारी दिइन । मास्क लगाउन अटेरी गर्नेहरुलाई काउन्सीलिङ गरेर मास्क प्रयोग गर्न अनुरोध गरिएको र उनीहरुले पनि मास्कको प्रयोगबारे सचेत भएपछि प्रयोग गर्ने गरेको मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी दिइन ।
‘कोरोना महामारी पछिल्लो समयमा व्यापक रुपमा फैलिरहेकाले सर्वसाधारणहरुलाई सचेत बनाउनकालागी हामीले विभिन्न संघसंस्थासँगको समन्वयमा अभियान सुरु गरेका हौ’ सचिव योगीले भनिन,– ‘मास्कप्रयोग नगरेकालाई मास्क प्रयोग गर्न र मास्क लगाएकाहरुलाई पनि सही तरिकाले मास्कको प्रयोग गर्न सचेत बनाउने काम गरेका छौँ ।’
साथै नेपाल महिला सामुदायिक सेवा केन्द्रले सम्पूर्णमा भिडभाडमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ ।