२०८१ बैशाख ६ गते बिहिवार

३२ दिनपछि पक्राउ परे घोराही कारागारका फरार नाइके यमराज, अब झनै सजाए थपिने

घोराही, माघ १० । दाङको घोराही कारागारबाट एक महिनाअघि भागेका कैदी यमराज परियारलाई प्रहरीले पक्राउ पछि सोमबार सार्वजनिक गरेको छ ।

कारागार नाइके समेत रहेका ३० बर्षीय परियारलाई भागेको ३२ दिनपछि प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले परियारलाई नेपाल–भारतको सीमा क्षेत्र बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका–१५ स्थीत जमुनहा नाकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखा, भारतीय प्रहरीसँगको समन्वयमा फरार नाइके परियारलाई पक्राउ गरेको हो । कारागारका कैदी उपचारको बहना बनाएर पुस ८ गते प्रहरीकै मोटरसाईकल लगेर भागेपछि जिल्ला प्रहरी कार्यालयले डिएपीको नेतृत्वमा सोही दिन खोजी तथा अनुसन्धानको कार्य अगाडि बढाएको थियो ।

कारागारमा कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका परियार पुसको ८ गते छालाको उपचार गर्न भनी प्रहरी जवान धनबहादुर चौधरीको लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर एउटा होटेलमा चौधरीलाई केटीसंगै बाहिरबाट ढोका लगाइ दिएर परियार भागेको प्रहरीले यसअघि जानकारी दिएको थियो ।

घोराहीमा रहेको थकाली भान्सा घर एण्ड लजमा युवतिसंगै यौन क्रियाकलापमा संलग्न रहेको बेला प्रहरी जवानलाई कोठामा थुनेर परियार भागेका थिए । प्रहरी र कैदीले थकाली होटलमा दुईजना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको थियो ।

कैदी परियारले प्रहरी जवानलाई आफ्नै प्रेमिकासहित होटलको कोठामा थुनेर भाग्न सफल भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । कारागारका नाईकेसमेत रहेका परियार भागेपछि अनुसन्धानका कारागारका जेलर युवराज परियारसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्य धनबहादुर चौधरी र उनीसंगै बसेकी युवति पूर्पक्षका लागि थुनामा रहेका छन् । पक्राउ परेका नाइके परियारलाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउने भएको छ ।

प्रहरी स्रोतका अनुसार कतब्र्य ज्यान मुद्दामा साढे ७ बर्ष जति कैद भुक्तान गरिसकेका परियारको अब काराबासको सजाय थप हुने छ । बाँकी रहेको सजाएको डेढ प्रतिसतले अब थप २० बर्ष सजाय स्वतह हुने प्राबधान रहेको छ ।

तस्विर ः शरद रेग्मी ।

प्रकाशित मिति : २०७८ माघ १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *