२०८३ भाद्र १२ गते शुक्रवार

गुल्मीमा बोलेरो दुर्घटना एक जनाको मृत्यु ,७ जना घाइते

दाङ, माघ ८ । गुल्मीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

दुर्घटनाका घाइते मध्य जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर – ९ उर्लेनीका ५५ वर्षीय काले कामीको उपचारको क्रममा शुक्रबार राति साढे ११ बजे पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

प्रमुख प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले घाइतेहरु मुसिकोट ९ कै २० वर्षीया सविना विक र ५४ बर्षीय सन्तविर विक, सोही ठाउँकै जीप चालक २७ वर्षीय शंकर परियार, सोही ठाउँकै ५८ बर्षीय रिखे विक गम्भीर घाइते रहेको जानकारी दिए ।


उनीहरु सबैको उपचार पाल्पामा भइरहेको छ ।दुर्घटना घाइते मध्य बेहुला २१ वर्षीय प्रकाश विक,२६ बर्षीया रमिला बिक र १३ बर्षीय सुरेन्द्र बिकको पनि पाल्पामै उपचार भइरहेको छ ।


शुक्रबार साँझ साढे ५ बजेतिर मुसिकोट नगरपालिका वडा नं. ९ ददलकामा लु १ च ७२९८ नम्बरको जीप दुर्घटनामा परेको थियो । उनीहरु बिहेको दोस्रो दिन माइतीमा ढोक भेट खोलाउन भनेर जाँदै गर्दा दुर्घटनामा परेका थिए ।


मुसिकोट ९ उर्लेनी टोलबाट बेहुला–बेहुली तथा आफन्तसहित बाग्लुङको हरिचौरस्थित बेहुलीको माइती जाँदै गरेको बोलेरो अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

पानी परेका कारण बाटो चिफ्फो भएको हुँदा बोलेरो दुर्घटनामा परेको प्रहरीले अनुमान गरेको छ । जीपमा ८ जना सवार रहेको प्रहरीले जनाएको छ । बोलेरो सडकबाट झन्डै २५ मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *