काठमाडौं,माघ ७ । काठमाडौं उपत्यकामा शुक्रबार रातिबाट सवारी साधनमा जोर बिजोर प्रणालीमा लागू हुने भएको छ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण बढेकाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठक बसेर आदेश जारी भएको हो।
नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीब्र रुपमा बढ्दै गएकाले रोग रोकथाम, नियन्त्रणलाई थप प्रभावकारी बनाउन मापदण्ड तोकिएको ललितपुरका साहायक सिडिओ हरिप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रे सहित) उपत्यका भित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्नुपर्नेछ।
अधिकारीका अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्याँस, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), खाद्यान्न, पानी, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र),परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, परिचयपत्रको आधारमा वैकरबीमारबित्तीय संस्थारवायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, सूचना तथा प्रशारण विभागवाट जारी पत्रकार परिचयपत्र रहेका संचारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन, कुटनैतिक नियोगका सवारी साधनलाई भने जोर बिजोर प्रणाली लागु हुँदैन।