दाङ, माघ ७ । । जिल्ला प्रहरी कार्यालय बाँकेले बेलाबेला राँझा बिमानस्थल, बस पार्क र भन्सार नाका जमुनामा कुकुर परिचालन गर्दै आएको छ ।
बुधबार मात्रै जमुनाहा भन्सार नाकामा प्रहरी तालिम प्राप्त कुकुरसहित सर्वसाधारणको चेकजाँचमा खटिएको थियो । बेलाबेलामा यसैगरी कुकुरलाई सुँघाएर सर्वसाधारणको सामान चेकजाँच गर्दै आइएको छ ।
लुकाइ छिपाई ल्याउन थालेको कुनै बिष्फोटक पदार्थ, लागु औषध ओसार पसारदेखि गर्नेहरु तर्साउनका लागि प्रहरीले बेलाबेलामा कुकुर परिचालन गरि सप्राइज चेकिङ गर्ने गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मधुसूदन न्यौंपानले जानकारी दिए ।
‘ त्यस्ता बदमासी गर्नेहरुमा मनोबैज्ञानिक रुपमा त्रास पैदा गर्नुपनि हो,’ डिएसपी न्यौंपानेले भने ‘हामी यो अपरझट गर्छौं र त्यसरी कुकुरसहित परिचालन गर्दा बदमासी गर्नेहरु आत्तिन्छन् ।’

डिएसपी न्यौंपानेका अनुसार कहिले काँही सूचनाका आधारमा पनि कुकुरसहित नाका, एयरपोर्ट र बसपार्कमा पुगेर चेकजाँच हुने गरेको छ । तालिम प्राप्त कुकुरसहितको चेकजाँचले उपलब्धिहरु प्नि भएको उनले बताए ।
‘कहिले काँही हामीले नदेख्न र नभेट्न सक्छौं,’ उनले भने ‘ तर, तालिम प्राप्त कुकुरले सुँघेरै लागु औषधहरु फेला पारेका केही उदाहरणहरु छन् ।’
एक पटकमा दूई तीन वटासम्म कुकुर लगेर एकाएक चेकजाँच थाल्दा सर्वसाधारण मानिसमा पनि अभिरुची पैदा हुनुका साथै प्रहरी प्रतिको विश्वासपनि बढ्ने एक अर्का प्रहरी अधिकारीले बताए ।
्
‘हाम्रो उदेश्य समाजमा प्रहरी हरेक दृष्टिकोणले सबल र सक्षम छ भनेर विश्वास जागृत गर्नुपनि हो,’ उनले भने ‘ त्यसरी हामी चेकजाँचमा खटिदा बदमासी हुन पाउँदैन वा गरेकाहरु पनि पहिचान गर्न सहज हुन्छ भन्ने नै हो ।’
बाँकेको कोहलपुरमा कुकुर तालिम केन्द्र छ । जस्लाई नेपाली प्रहरीले केनाइन शाखा भन्ने गर्छ । त्यही कुकुरलाई तालिम दिने काम हुँदै आएको छ । कोहलपुरमा तालिम दिएपछि यसरी कुकुरलाई सार्वजनिक स्थलहरुमा चेकजाँचका लागि खटाउने गरिदै आएको छ ।
बाँकेका छिमेकी जिल्लाहरु दाङ, सल्यान, रोल्पा, रुकुम, सुर्खेत लगाएतका जिल्लाहरुमा भएका ठूला घटना अनुसन्धान गर्न कोहलपुरबाट तालिम प्राप्त कुकुरहरु समय समयमा लैजाने गरिएको छ ।