टेकबहादुर पुन,लमही माघ ६ । कठ्याङ्रिदो जाडोको समय, त्यसैमाथी बुढ्यौली उमेर । यो समय बृद्ध बृद्धाका लागि कम्ती सकसको समय हैन ।
उनीहरुलाई यो समयमा जाडो छल्ने न्यानो ओड्ने कपडा अति आवश्यक हुन्छ । तर के गर्नु जिन्दगी अभाबमा छ ।
बाक्लो कपडा किन्न सक्ने हैसियत सबैको कहाँ हुन्छ र ? सरकारले दिने बृद्द भत्ता दुई चार हजार दिने न हो । त्यत्तिले मात्रै सबै आबश्यक्ता पुर्ति गर्नपनि मुस्किल नै हुँदो हो ।
त्यसैले ओड्ने कपडाको आशमा थिए लमही नगरपालिका वडा नम्बर ७ का जेष्ठ नागरिकहरु ।
तिनै जेष्ठ नागरिकलाई दाङको लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले बिहीबार न्यानो ब्ल्याङ्केट बितरण गर्दै सम्मान गरेको छ । सम्मान ग्रहण गर्दै बनघुस्री निवासी सदावती चौधरीले यो जाडोमा ब्ल्याङ्केट दिएर वडाले ठूलो गुण लगाएको भन्दै खुसी ब्यक्त गरिन । ‘समय अनुसार चिसो छल्न ब्ल्याङ्केट पाईयो, अहिले अति आबस्यक पनि थियो, यो भन्दा खुसी अरु के हुन सकुला,’ चौधरीले भनिन ।
कार्यक्रममा वडाध्यक्ष मोहन गिरीले छोराछोरीलाई आमाबुवाको महत्वको आभाष दिलाउने गरी न्यानो ब्ल्याङ्केटले सम्मान गरिएको बताए ।
वडा अन्तरगतका सम्पुर्ण जेष्ठ नागरिक र एकल महिलालाई एकैचोटी सम्मान गर्ने योजना थियो । तर कोरोना सँक्रमण बढ्दै गईरहेको प्रस्थितीमा भिडभाड गर्नु जायज नरहेको वडाध्यक्ष गिरीको भनाई छ । ‘ंसक्रमण बढेको छ। यस्तो अबस्थामा भिडभाड उचित हुदैन। यसो भन्दा पाउने चिज नपाउने त हैन,’ अध्यक्ष गिरीले भने ‘हामीले क्रमश सबैलाई सम्मान स्वरुप न्यानो ब्ल्याङ्केट उपलब्ध गराउछौ। वडाका एकल महिला र जेष्ठ नागरिक गरि २ सय ९७ जनालाई बितरण गर्नेछौं ।’
पछिल्लो समय कोरोना सँक्रमण फैलीरहेकोले टोल–टोल बिभाजन गरि न्यानो ब्ल्याङ्केट बितरण गर्नु परेको वडा कार्यालयले जनाएको छ । सबैलाई एउटै प्राङ्गणमा उपस्थित गराएर सबैको दुख सुख साट्दै सम्मान गर्ने योजना रहेपनि समय र प्रस्थितीका बाबजुद त्यसो गर्न नसकिएको प्रति वडा अध्यक्ष गिरीले चिन्ता ब्यक्त गरे ।
बिहीवार पहिलो दिन बनघुस्री टोल बिकास सँस्था अन्तरगतका जेष्ठ तथा एकल महिलालाई बितरण गरि सकिएको छ भने अन्य टोलका लाई क्रमश बितरण गरिने छ ।
२ सय ९७ मध्य १ सय ४६ जना जेष्ठ नागरिक र १ सय ५१ जना एकल महिलालाई न्यानो ब्ल्याङ्केटले सम्मान गरिने छ ।
आर्थिक बर्ष २०७८ ÷०७९ को ७ लाख रुपैयाको लागतमा वडाका सम्पुर्ण जेष्ठ नागरिक र एकल महिला हरुलाई न्यानो ब्ल्याङ्केटले सम्मान गरिएको हो । वडाध्यक्ष मोहन गिरीको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा वडा सदस्य राधा केसीले स्वागत मन्तब्य ब्यक्त गरेकि थिईन । कार्यक्रमको सहजिकरण वडा सचिब शेर बहादुर चौधरीले गरेका हुन ।
लमही वडा नम्बर ७ मा गरिएको यो सम्मान कुनै नौलो हैन । वडामा जनप्रतिनिधी आइसकेपछि कहिले नगद, फाइबर सिरक, प्रमाण पत्र र दोसल्ला, न्यानो ब्ल्याङ्केट लगायतले बिगतदेखी नै सम्मान गर्दै आइरहेको छ ।