
तुलसीपुर, माघ ६ । तुलसीपुर उपमहानगरपालिकाले राजश्व सुधार कार्ययोजना सम्बन्धि पुस्तक सार्वजनिक गरेको छ ।
सम्बन्धित क्षेत्रका विज्ञ संगको परामर्श पछि ४ बर्षे प्रक्षेपणसहित पुस्तक तयार पारिएको बिहीबार पुस्तक सार्वजनिक कार्यक्रममा जानकारी दिइएको थियो ।
राजश्व परिचालन क्षमताका आधारमा स्रोतहरुको सम्भाव्यता, जनताको कर तिर्नसक्ने क्षमता र उपमहानगरपालिकाको राजश्व प्रशासनको समष्टिगत विश्लेषण गरी सुधारका उपायहरु पहिचान गर्दै राजस्वमा अभिबृद्धि गर्ने उद्देश्यले पुस्तक तयार पारिएको उपमहानगरपालिका राजश्व शाखा प्रमुख भेषराज चन्दले बताए ।
कार्ययोजनालाई टेकेर अघि बढेमा आर्थिक बर्ष २०८१÷८२ मा दुई अरब ६२ करोड ३० लाख २३ हजार बढी राजश्व संकलन गर्न सकिने प्रक्षेपन गरिएको छ ।
चालु आव २०७८÷०७९ मा ६० करोड राजश्व संकलनको लक्ष्य लिएको उपमहानगरपालिकामा पुस मसान्तसम्म ११ करोड मात्र संकलन भएको छ ।
सुधार कार्ययोजनामा करका क्षेत्र, उपमहानगरमा रावश्य असुलीको वर्तमान अवस्था, राजश्व परिचालनका सन्दर्भमा विद्यमान नीति र संस्थागत संरचना, जनशक्ति, विगतको राजश्व ९आय० परिचालन अवस्था, उपमहानगरपालिकाको राजश्वको संभाव्यता, वर्तमान आन्तरिक आयका आधार, दर र प्रशासकीय संरचनाको जिम्मेवारी समेत विलेश्लेषण गरिएको छ ।
पुस्तक सार्वजनिक कार्यक्रममा मेयर घनश्याम पाण्डेले लक्ष्य अनुसार राजश्व संकलनका लागि अध्यक्ष र वडा सचिवहरुको तत्पर्ता आवश्यक हुने तर्क गरे । राजश्व चुहावट हुँदा विकास निर्माणका कामहरु प्रभावित हुने हुँदा लक्ष्य अनुर अघि बढ्न आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा नगरका आर्थिक समितिका संयोजक माधव वलीले उपमहानगरपालिको प्रयासले मात्रै सम्भव नहुने भएकाले राजश्व वृद्धिका लागि सबै वडाहरु जिम्मेवारी बोधका साथ लाग्नु पर्ने धारणा राखे ।
सो अवसरमा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती र तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव बिलिन केसीले कर असुली मात्रै भन्दापनि करको दायरा फराकिलो बनाउने योजनाका साथ अघि बढ्न आवश्यक रहेको सुझाएका थिए ।
उनीहरुले विज्ञापन कर र सरसफाई कर व्यवसायीसंग समन्वय नगरेर ल्याएको भन्दै त्यो पुर्नंबिचार गर्न माग गरे ।
तुलसीपुरकी उपमेयर माया शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तक तयार गर्नका लागि सहयोग गर्ने साझेदारी संस्था यूएसएआइडी– संघीयता सहयोग कार्यक्रमका तुलसीपुर प्रतिनिधि विश्वमणी खनालले नगर प्रमुख घनश्याम पाण्डेलाई राजश्व सुधार कार्ययोजना पुस्तक हस्तान्तरण गरेका थिए ।