काठमाडौं, माघ २ । नेपाल सरकारले लिपुलेकमा भारतीय सरकारले एकपक्षीय रूपमा सडक निर्माण गरेको बिषय बारे आफ्नो धारणा सार्वजनिक गरेको छ।
आइतबार सिंहदरबारस्थित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता तथा सञ्चार प्रविधि तथा सूचना मन्त्री ज्ञानेन्द्र कार्कीले महाकाली नदीका पूर्व लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको स्पष्ट पारे ।
‘यो तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट छ,’ कार्कीले भने ‘ नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एक पक्षीय युनिल्याटरल सडक निर्माण – विस्तार रोक्न आग्रह गर्दै आएको छ ।’
नेपाल सीमा समस्याको समाधान कूटनीटिक माध्यमबाट गर्न प्रतिबद्ध रहेको कार्कीले बताए ।
दुई देश बीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धी, सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा कूटनीटिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रहेको प्रबक्ता कार्कीले स्पष्ट पारे ।
नेपाल सरकार प्रबक्ता कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाईको बिरोध समेत गरे । मोदीको उक्त अभिव्यक्तिको चौतर्फी बिरोध भइरहेको छ ।
गत डिसेम्बर ३० मा उत्तराखण्डको हल्दवानीमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा मोदीले लिपुलेकमा सडक निर्माण गरिरहेको कुरा गरेका थिए ।