२०७९ साउन २७ गते शुक्रवार

किन ओझेलमा पर्यो, ‘तुलसीपुर चक्रपथ’ ?



तुलसीपुर, पुस ३० । करिव एक दशक भन्दा पहिले रेखांकन भएको ‘तुलसीपुर चक्रपथ’ निर्माणको कामले गति लिन सकेको छैन् ।
तुलसीपुरको सम्बृद्धि संग जोडेर हेरिने ‘तुलसीपुर चत्रपथ’ निर्माण कार्य हालसम्म डेढ किलो मिटर कालोपत्रेमै सिमित छ ।
सडक डिभिजन अन्तर्गतको भवन डिभिजन कार्यालय राजपुरदेखि शान्ती पार्कसम्म एक बर्ष पहिले प्रदेश सरकारको वजेटबाट करिव डेढ किलो मिटर सडक कालोपत्रेको काम भने सुरु भएको थियो ।
जबकी साविक तुलसीपुर नगरपालिकाको १३ औं नगरपरिषद्ले पारित गरेको चक्रपथ निर्माणकार्य पछिल्लो समय सबैले बिर्सिदै गएका छन् ।

तुलसीपुर– ७ राजापुरको आँखा अस्पताल रक्षाचौर हुदै तुलसीपुरको ३ डाडाखुटी, टिकरी र तुलसीपुर–१२ को टरिगाउँ हुदै फेरि राजापुर जोडीने चक्रपथको नक्साङकन भएको थियो । तत्कालिन अवस्थमा काठमाडौंको एक कन्सल्टेन्सी ‘आरडिसी’ले सम्भाव्यता अध्ययन पुरा गरेको थियो । साविक नगरपालिकाको सवै क्षेत्रलाई छुने गरी करिव ३७ मिटर लामो चक्रपथ निर्माण हुने भनिएको थियो ।

त्यस पछि पुनः करिव २९ किलो मिटर लामो र ३० मिटर चौडाइको चक्रपथ निर्माण गर्ने गरि काम अगाडि बढाइएको तुलसीपुर पूर्वाधार विकास प्राधिकरणका प्रमुख इन्जिनियर पवन योगीले जानकारी दिए ।
उनका अनुसार चक्रपथ निमार्ण हुने स्थानमा पहिले केही कच्ची वाटो निमार्ण भएका र पछि सवै वडाहरुमा ट्रयाक समेत खोलियपनि अन्य केही काम अघि बढ्न
सकेको थिएन ।

चक्रपथको डिपीआर तयार पारी काम सुरु भएपनि अहिले भने त्यो बिषय ओझेलमा परेको छ ।

साविक तुलसीपुर नगरपालिका हुँदा चक्रपथ निर्माणको लागि चक्रपथ रेखांकन भएको थियो । चक्रपथ निर्माण गर्न ब्यवास्थापन समिति गठन समेत भएको थियो । तर, पछिल्लो समयमा त्यो बिषय ओझेलमा परेको छ । कसैको प्रथामिकतामा त्यो परेको देखिएन ।
स्थानीय निर्वाचनका क्रममा चक्रपथ सबैको भोट तान्ने एउटा प्रमुख माध्यम बनाइएको थियो ।
तुलसीपुर नगरपालिका महानगरपालिका भएर अन्य गाविसहरु पनि गाभिदा केही समय यसको काम रोकिएको थियो । तर जनप्रतिनिधि पाएपछि चक्रपथ निर्माणको काम सुरु भएपनि पछिल्लो समय भने त्यो ओझेलमा परेको छ ।

गाविसहरु पनि उपमहानगरमा गाभिएपछि तुलसीपुरमा वाहिरी र भित्री चक्रपथ निर्माणको वहसपनि नउठेको होइन । तर पछिल्लो समयमा आएर निर्माण सुरु भएको चक्रपथको काम पनि अगाडि बढन सकेको छैन् ।

। ‘चक्रपथ निर्माणको लागि यो बर्ष बजेट छैन्,’ इञ्जिनियर योगीले भने ‘यो बहुआयामिक योजना भएपनि यो प्राथमिक्तामा पर्न सकेन ।’
तुलसीपुर उपमहानगरपालिकाले यसलाई सडक मातहात राखेर प्राथमिक्ता भने दिएको थियो । उपमहानगरले आर्थिक बर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा तुलसीपुर चक्रपथ निर्माणका लागि १ करोड ४० लाख, त्यस्तै आर्थिक बर्ष २०७८÷७९ मा तुलसीपुर चक्रपथ निर्माणलाई निरन्तरता दिन प्रदेश सरकार मार्फत १ कारोड ५० लाख बजेट व्यवस्था गरेको थियो । त्यस्तै संघ, प्रदेश सरकारसंग समन्वय गरी तुलसीपुर चक्रपथ निर्माण तथा तुलसीपुर बजार क्षेत्रमा फुटपाथ निर्माणका लागि आवश्यक पर्ने बजेट व्यवस्था गरिएको भनेर नीति कार्यक्रम ल्याएको थियो । तर, त्यसले पूर्णता पाउन भने सकेन ।

तुलसीपुरका मेयर घनश्याम पाण्डेले प्रदेश सरकार अन्तर्गत क्रमागत योजना अनुसार चक्रपथ निर्माणको लागि आफुहरु लागे पनि अहिले प्रदेश सरकरकारले त्यो योजना हटाएको हुँदा समस्या उत्पन्न भएको प्रतिक्रिया दिए ।

‘चत्रपथ निर्माणको कामलाई हामीहरुले अगाडी बढाएका थियौ,’ उनले भने ‘तर, अहिले यो योजना प्रदेश सरकारले हटाएको छ बजेट पनि छैन्।’

उनले सवैको चासो र बहुआयमिक योजना हटाउनु दुःखद पक्ष भएको बताए ।

‘हामीहरु यसका लागि दुःख प्रकट गरेका छौं,’ उनले भने ‘ अहिलेको प्रदेश सरकारले यसलाई महत्व नदिनु योजना र हटाउनु राम्रो होइन ।’

यस अघि अस्थिर सरकार, बजेटको अप्रयाप्तताका कारण काम अघि बढ्न नसकेको नगरपालिकाले बाहाना गर्ने गरेतापनि यसपाली अधिकार सम्पन्न जनप्रतिनिधि आउँदा पनि निर्वाचनको क्रममा वाचा पुरा नगर्नुले सर्वसाधारण पनि चक्रपथ निर्माण हुने कुरामा ढुक्क हुन सकेका छैनन् ।

प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.