२०७८ माघ १० गते सोमवार

सल्यानमा ‘स्वर्ग जाने बाटो’ निर्माण

दाङ, पुस ३० । के ‘स्वर्ग जाने बाटो’ पनि हुन्छ र ? यो सुन्दा अचम्म लाग्न सक्छ । तर, सल्यानको सिद्धकुमाख गाउँपालिका वडा नं. ३ ढोरचौरस्थित निराजन माविले त्यहाँ ‘स्वर्ग जाने बाटो’ निर्माण गरेको छ ।

निर्माण पछि सिलालेखमै ‘स्वर्ग जाने बाटो’ भनेर नामांकरण गरिएको छ । बिद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीले निर्माण पछि उक्त नाम राखेको जानकारी दिए ।

‘सालखोली डाँडाबाट फलाटे खोला मसान घाटसम्म जाने करिब तीन सय मिटर लम्बाईको स्वर्ग जाने बाटो मेरै पहलमा बिद्यालय परिवारले निर्माण गरेको हो,’ प्रअ घर्तीले भने ‘ हामी शिक्षक, बिद्यार्थी आँफैले मिलेर बाटो खनेका हौं।’

झन्डै एक सय २० जना शिक्षक बिद्यार्थीले तीन दिन दैनिक एक डेढ घन्टा श्रमदान गरी बाटो निर्माण गरेको उनले जानकारी दिए । बाटो खन्न ९,१० र ११ कक्षाका बिद्यार्थी, शिक्षक र तीन जना स्थानीय समेत खटिएको घर्तीले बताए ।

पुसको २३, २४ र २५ गते बाटो खनिएको हो । घर्तीले भने ‘ त्यसको उद्घाटन भने हामीले पुस २७ गते गरेका हौं।’ कोरोना भाइरस महामारीको संक्रमन फेरि फैलन थालेपछि र बिद्यालय बन्द हुन थालेपछि त्यसपूर्व नै उद्घाटन गर्ने उदेश्यले २७ गते बाटोको उद्घाटन गरिएको उनले बताए ।

बाटो उद्घाटन गर्दै कुनै दलका नेता,सांसद वा मन्त्री नबोलाएर स्थानीय सबै सर्वसाधारण संगै हिडेर गरिएको प्रधानाध्यापक घर्तीले जानकारी दिए ।

बाटो निर्माण भएको देखेर घर निर्माण गर्दै गरेका एक जना संग ५ किलो जति सिमेन्ट मागेर सानो पिलर बनाइ त्यसैमा बिद्यालयको नाम समेत लेखिएको प्रअ घर्तीले बताए ।

‘बिद्यालयले नै निर्माण गरेको सामाजिक कार्य भएको हुँदा बिद्यालयको नाम राखिएको हो,’ घर्तीले भने ‘ यो सानो कामले समाजमा पछिसम्म पनि सामाजिक कार्यमा ठूलो सन्देश प्रवाह होस भन्ने मेरो चाहाना हो ।’ घर्तीको घर जिल्लाकै छत्रेश्वरी गाउँपालिका वडा नं। २ दमाचौरमा पर्छ ।

उनी अध्यापनका शिलशिलामा सिद्धकुमाखमा पुगेका हुन । जहाँ उनले स्थानीय मासिनहरुको मृत्यु पछि अन्तिम संस्कारका लागि लगिने बाटो नहुँदा भोग्नु परेको समस्या नजिक बाट नियाले ।

‘शब बोकेर हिड्ने ठाउँपनि थिएन,’ उनले भने ‘मलामीहरु खोलै खोल वा किसानका खेतबारीमा हिड्नुपर्ने निकै अप्ठेरो अवस्था थियो ।’ त्यसबारे उनले स्थानीय जनप्रतिनिधिसंग पटक÷पटक आग्रह गरे । तर, उनको कुरा सबैले सुनेको नसुनेझैं गरे । प्रधानाध्यापक घर्तीको मनले मानेन । हप्ता दिन अगाडि घर्तीले त्यस ठाउँमा खेत भएका ब्यक्तिहरु सबैलाई एकै ठाउँमा भेला गरेर छलफल गरे ।

बिद्यालयले नै बाटो बनाइ दिने भएपछि स्थानीय पनि बाटोको लागि आवश्यक पर्ने जग्गा दिन तयार भए । त्यसपछि शिक्षक र बिद्यार्थीसंग उनले कुरा गरे । ‘सबैले साथ दिए । धमाधम काम भयो र हामीले तीन दिनमै बाटो बनाउन सफल भयौं,’ उनले थपे ‘अबदेखि खटमा शब बोकेर हिड्ने मलामीलाई खोलै खोल वा किसानले उत्पादन गरेका अन्न बालीमा टेक्दै खेतै खेत हिड्नु पर्ने छैन।’

बिद्यालयको पनि सामाजिक कार्य गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न जरुरी रहेको उनले तर्क गरे । ‘शिक्षाको उज्यालोका साथसाथै समाजका सकारात्मक कार्यहरुमा शैक्षिक संघ संस्थाहरुको सक्ने जति योगदान हुनुपर्छ,’ उनले भने ‘ त्यसले समाजलाई उर्जा प्राप्त गर्छ र समाजलाई एकताको सुत्रमा बाँध्न मद्दत गर्छ ।’

किन बाटोको नाम ‘स्वर्ग जाने बाटो’ भनेर राखिएको हो ? भनेर सोध्दा उनले मानिसको मृत्यु पछि स्वर्गमा बास हुन्छ भन्ने विश्वासको साथ उक्त नाम राखिएको तर्क गरे ।


‘ हाम्रो आस्था विश्वास र धर्म अनुसार मृत्यु पछि स्वर्गमा गइन्छ भन्ने छ,’ उनले थपे ‘मानिसलाई उस्को जीवन पछिको अन्तिमको यात्रा गराउने बाटोको सोही अनुरुप राखिएको हो ।’ बाटोको नामांकरणबाट स्थानीयपनि खुसी रहेको बताए ।

‘अन्तिममा मानिसलाई बिदाई गर्न लैजाँदै गर्दा कोल्टाई कोल्टाई लैजानु राम्रो होइन,’ उनले भने ‘ अब हामीले डेढ मिटरको बाटो बनाएको छौं, अब मलाहीहरु सजिलो गरि मानिसलाई खटमा बोकेर घाटसम्म पु¥याउन सक्ने छन् ।’

प्रअ घर्तीले ‘स्वर्ग जाने बाटो’ निर्माणका लागि आ–आफ्नो जाग्गा काटेरपनि बाटो बनाउन दिने स्थानीय छबिलाल थापा, गमबहादुर घर्ती, शिवलाल बोहरा, गणेश गिरी, बुद्धि रामबोहरा लगाएत अभियानमा साथ दिने सबैलाई धन्यबाद दिए ।

प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *