
दाङ, पुस २९ । दाङमा बिहीबार मध्यरातिदेखि बेलुका सात बजे होटेल तथा रेष्टुँराहरु खोल्न नपाइने भएको छ ।बिहीबार स्थानीय प्रशासनले यस्तो निर्देशन जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा घोराहीमा बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरसको संक्रमण तथा जोखिम बढेको भन्दै शुक्रबारदेखि जिल्लाका होटेल ७ बजेपछि खोल्न नपाइने नियम लागु गरेको हो ।
स्थानीय प्रशासनले माघ ७ गतेदेखि सार्वजनिक स्थलहरु कार्यालय, होटेल, रेष्टुँरा, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क आदी प्रबेशका लागि खोप लगाएको कार्ड अनिवार्य देखाउनु पर्ने ब्यबस्था गरेको छ । सार्वजनिक साधनमा यात्रा गर्ने यात्रुले मास्क नलगाएका यात्रुलाई बसमा चढ्न नदिन निर्देशन जारी भएको छ ।
त्यस्तै माघी पर्वको अबशरमा आयोजना हुने सबै खाले मेलाहरु सञ्चालनमा समेत रोक लगाइएको छ ।केन्द्रको जस्तै माघ १५ गतेसम्म बिद्यार्थीको भौतिक उपस्थितिमा बिद्यालय सञ्चालनमा रोक लगाइको छ ।
औद्योगिक संस्था, पसल सञ्चालन गर्नेले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन जारी भएको छ ।राजनीतिक, सामाजिक र सांस्कृतिक जमघट तथा भेलाहरु माथि प्रतिबन्ध लगाइएको छ ।सार्वजनिक स्थलमा २५ भन्दा बढी जमघट गर्न प्रतिबन्ध लगाएको छ ।
