काठमाडौं,पुस २६ । अर्थमन्त्री जनार्दन शर्माले सङ्कटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्नुपर्ने बताए ।
आज सोमवार काठमाण्डौमा बैंक तथा वित्तीय परिसङ्घ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सङ्कटका बेला बढी नाफामुखी हुन नहुने बताएका हुन ।
बैंक तथा वित्तीय संस्थाहरूले गरेको मागअनुसार ३० प्रतिशत करबाट केही घटाउन सकिने उल्लेख गर्दै मन्त्री शर्माले बैंकहरूले पनि सङ्कटका बेला बढी नाफामुखी हुन नहुने बताए ।
उनले देशको गार्हस्थ्य उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्नुहुँदै सङ्कटका बेला सरकार, निजी क्षेत्रलगायतले एकले अर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै मन्त्री शर्माले दक्षिण कोरियालगायतका देशमा शाखा खोल्न बैंकहरूलाई आग्रह गरे ।
कोरिया, जापान, इजरायल लगायतका देशबाट अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने गरेको सूचना प्राप्त भएको बताउँदै उनले ती देशमा शाखा खोल्न सकेमा त्यसले रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन सहयोग पुग्ने बताए ।
उनले विद्यमान तरलताको अभाव एक महिनाभित्र समाधान हुने पनि बताए । कोभिड १९ का कारण दुई वर्षसम्म व्यवसाय गर्न नपाएका व्यवसायीले वित्तीय संस्थाहरूबाट एकै पटक ठूलो परिमाणमा ऋण प्रवाह हुँदा यस्तो चाप परेको उनको भनाई छ ।
