काठमाडौं, पुस २२ । बालुवाटार जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी गरेको छ ।
ब्युरोका निर्देशक धिरजप्रताप सिंहले ‘हाइप्रोफाइ’का नेता र व्यक्तिहरुका बिरुद्ध पनि पक्राउ पूर्जी जारी भएको जानकारी दिएका छन् ।
जसमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसचिव नारायणगोपाल मलेगोलगायतका ब्यक्तिहरुका बिरुद्ध पक्राउ पूर्जी जारी भएको ब्युरोका निर्देश सिंहले बताए ।
अनुसन्धान अन्तिम चरणमा पुगेको भन्दै सिंहले तीन सय बढीका बिरुद्ध त्यस्तो पक्राउ पूर्जी जारी भएको जानकारी दिए ।
पक्राउ पूर्जी जारी भएकालाई सकेसम्म अनुसन्धान प्रतिवेदनसँगै अदालतमा लैजाने तयारी गरिएको ब्युरोका निर्देशक सिंहले बताए ।
बालुवाटार जग्गा प्रकरणमा बिचौलियाको भूमिका खेलेको आरोप खेपेका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदीलाई प्रहरीले यसअघि नै पक्राउ गरि सकेको छ ।
उनीहरू अहिले थुनामा छन् ।
पक्राउ पूर्जी जारी भएकामध्ये अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त बस्न्यात र उनका आफन्तको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान जारी राखेको छ ।
यी बाहेक अरु भने पक्राउ परेका छैनन् ।