२०७७ कार्तिक ४ गते मङ्गलवार

धार्मिक पर्यटन प्रवद्र्धनका लागी महायज्ञ

यमकला भुसाल,
दाङ, पुस २९। दाङको धारपानीस्थित पाण्डवेश्वर महादेव धामको धार्मिक पर्यटन प्रवद्र्धनको लागी फाल्गुन ११ देखि फाल्गुन १८ सम्म महायज्ञको आयोजना गरिएको छ । स्थानीय अगुवा र दानवीरहरुको आर्थिक सहयोगमा प्रवद्र्धन गरिदै आएको धारपानीमा यस वर्ष महायज्ञको आयोजना गरि प्रवद्र्धन गर्न लागेको पाण्डवेश्वर धाम मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए ।

ऐतिहासिक तथा धार्मिक महत्वले भरिपूर्ण धाम विशेष गरि विगत ५ वर्षदेखि स्थानीय अगुवाहरुको नेतृत्वमा पूर्वाधार निर्माण र प्रवद्र्धनको कार्यक्रम हुदै आएका छन् । विसं १९९८ सालदेखि पुजाआजा हुदै आएको पाइन्छ, यसभन्दा अघिका समयमा पनि धेरै सन्त महन्तहरुले पूजापाठ गर्दै आएको पाकाहरु सुनाउछन् ।

धेरै वर्ष पहिलेदेखि पूजापाठ भएपनि विशेष गरि ५ वर्षयता स्थानीय अगुवाहरुको नेतृत्वमा प्रवद्र्धनका काम हुदै आएका छन् ।धारपानीमा दैनिक करिब १ हजार मानिसहरु पुग्ने गरेको अनुमानित तथ्याँक छ । पछिल्लो समय पाहुनाहरुको आगमन बढ्न थालेपछि थप प्रवद्र्धनका काम हुन लागेका हुन् । धारपानीलाई देशकै अब्बल गन्तव्य बनाउन महायज्ञको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव आचार्यले बताए ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीय गन्तव्य पाण्डवेश्वर महादेव धाम दाङको घोराही उपमहानगर ५ धारपानीमा रहेको छ । समुद्री सतहदेखि ६ सय ३३ मीटर उचाईमा,चुरे पर्वतमालाको काखमा र सरयू नदीको बाँया किनारमा अवस्थित रहेको धाम पुग्न काठमाडौदेखि ४ सय २१ किलोमिटर पश्चिम र प्रदेश मुकामदेखि १ सय ६१ किलोमिटर पश्चिममा छ । धार्मिक आस्थाको केन्द्र धारपानी त्रेता युगसंग सम्बन्ध जोडिएको महाभारतको ऐतिहासिक घटनाबाट सरसर्ती बुझ्न सकिन्छ ।

महाभारतको युद्धपछि पाँच पाण्डव भारतको केदारेश्वरबाट भक्तपुरको डोलेश्वर हुदै यस पवित्र भूमिमा आइपुगेको पाइन्छ । धारपानीमा आइ ज्योर्तिलिङ्ग स्थापना गरि पूजापाठ गरेको किम्बन्ती छ । धारपानीमा ज्योर्तिलिङ्ग स्थापना गरि कुण्डको जल लिएर स्वर्गद्वारीको बाटोबाट स्वर्ग गएको बुढापाका बताँउछन् ।

महाभारतमा द्धैध वनको सन्दर्भ पाण्डवहरुसंग जोडिएको छ । जसको व्याख्या गर्दा उत्तरतिर विशाल तलाउ रहेको र चुरेको फेदीमा शिवलिङ्ग स्थापना गरिएको भन्ने उल्लेख छ । विशाल तलाउ भन्नाले हालको दाङ उपत्यका र स्थापना गरिएको शिवलिङ्ग मन्दिरभित्रको शिवलिङ्ग हो । दाङ उपत्यका बिस्तारै बस्ती बस्ने योग्य बन्दै गयो र दाङमा थारु जाति र अन्य जातिहरुको बिस्तारै बसोबास हुदै गएको पाइन्छ ।

थारु संस्कृतिको अध्ययन गर्दा महाभारतको कथासंग थारुहरुको सम्बन्ध रहेको प्रष्ट हुन्छ । ,गैया बेर्हना, बर्का गुरै संस्कारहरु महाभारतको कथासंग निकट छन् । दाङमा मानव बस्तीको विकास हुदै जाँदा हालको गुरुवा गाँउका थारु दाउरा काट्न जाँदा हाल मन्दिरभित्र रहेको साजको काटी नसकेपछि भोलिको दिन पुनः काट्न जाँदा उक्त साजको रुख जस्ताको तस्तै देखिएपछि यसको अनौपचारिक अध्ययन र अनुसन्धान भएको हो । अध्ययनबाट विशाल ढुँगामा शिवलिङ्ग विष्णुपादुका बाघका आँखा कुण्ड देखिएपछि शिवस्थान भनि पूजाआजा गर्न थालिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले बताए ।

किम्वदन्ती अनुसार महाभारतको भिषण युद्धपछि राजा युधिष्ठर चक्रव्यूहमा परि अर्जुनका छोरा अभिमन्यूको मृत्यूपछि नाती परिक्षिदलाई हस्तिनापुरको राज्य सुम्एिर उत्तरापन्थ भई स्वर्ग जाने बाटो हालको धामको घना जंगलमा आइ सरयू (बबई)नदीमा स्नान गरि शिवलिङमा रहेको जल लिएर हालको स्वर्गद्वारीबाट स्वर्ग गएको धार्मिक किम्वदन्ती छ । यतिमात्रै होइन, पाण्डवेश्वरधामको दर्शन गरि कुण्डको जल लिएर स्वर्गद्वारीको दर्शन नगरे पूण्य प्राप्ती नहुने लोक विश्वास छ ।

दाङ उपत्यकाको रामपुर मालझाँक्री वनभित्रबाट सरयू नदीको उत्पत्ती भएको छ । सरयू नदीको उत्पत्तीको इतिहास केलाउदा ऋषिहरुले तपस्या गर्दा पानीको अभाव भएको र भगवान विष्णुले बाण हानी नदीको उत्पत्ती गरिएको किम्वदन्तीमा छ । सरयू नदीको किनारमा अवस्थित शिवधामको ऐतिहासिक सम्बन्ध भारतको अयोध्यासंग पनि जोडिएको छ । यी यस्तै थुप्रै तथ्य र घटनाहरुले पाण्डवेश्वर धाम ऐतिहासिक गन्तव्य भएको पुष्टि गर्न कठिन नभएको अध्ययताहरु बताँउछन् ।

पूर्वाधार र प्रवद्र्धन 

धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न स्थानीय दानवीरहरुको आर्थिक भौतिक सहयोगले यतिबेला धारपानी मुलुककै अब्बल गन्तव्यको लयमा छ । मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यका अनुसार दानवीरहहरुले ५ करोड रुपैया बढीको दान गरेका छन् । जसबाट मन्दिर परिसरमा थुप्रै भोतिक पूर्वाधार निर्माण भएका छन् । सरकारले पछिल्लो तथ्याँक अनुसार करिब १ करोड रुपैया लगानी गरेको छ ।

राज्यको खासै लगानी नभएपनि स्थानीय भक्तजनहरुको अंश अंशको दानबाट विश्वकै अग्लो त्रिशुल स्थापना गरिएको छ । त्रिशुल स्थापनापछि आन्तरिक र बाह्रय पाहुनाहरु आउने गरेका छन् । विश्वकै अग्लो त्रिशुल, १०८ शिवलिङ्ग, १०८ गौमुखी धारा, १ हजार ८ वरपिपल, ऊँसागर,धर्मशाला, विभिन्न देवी देवताको मन्दिर निर्माण भएका छन् ।

सरयू नदी छेउमा विशाल तलाउ निर्माण, ४ हजार ९ सय ६३ सिढी निर्माण,सुनकोटमा खड्गदेवी मन्दिर निर्माण, प्राकृतिक पार्क निर्माण, सुनकोटमा ३ हजार १ सय किलोग्रामको घण्ट स्थापना,, भ्यूटावर निर्माण, वैद्धिक परम्परामा आधारित गुरुकुल तपयोग केन्द्र स्थापना ,वृहत मौलिक गौशाला निर्माणको योजना अगाडि सारिएको छ ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको संरक्षण सम्वद्र्धन प्रवद्र्धन र जिर्णाेद्वाराको माध्यमबाट यस क्षेत्रको धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न लक्ष्य रहेको सचिव विष्णुराम आचार्यले बताए । महायज्ञको माध्यमबाट धारपानीको गरिमालाई थप नयाँ उचाईमा पुराउनुसाथै यहाँको भौतिक पूर्वाधार तथा प्रवद्र्धनमा समेत टेवा पुग्ने सचिव आचार्यको कथन छ । महायज्ञमा कथाबाचन पण्डित दिनबन्धु पाख्रेलले गर्ने भएका छन् ।

प्रकाशित मिति : २०७५ पुष ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *