काठमाडौँ,पुस १६ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मेलमिलाप, सम्वाद, सहमति र सहकार्य सदैव आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीसमेत रहेका देउवाले राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्ति बीच मेलमिलाप, सम्वाद, सहमति र सहकार्य सदैव आवश्यक रहेको बताएका हुन्।
‘राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्ति बीच मेलमिलाप, सम्वाद, सहमति र सहकार्य सदैव आवश्यकता हुन्छ । नेपाली कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलापको नीति आज पनि त्यत्तिकै सान्दर्भिक र औचित्वपूर्ण छ,देउवाले शुभकामना सन्देशमा भनेका छन्।
यस्तै प्रधानमन्त्री देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा वीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महत्व रहेको धारणा व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा भनिएको छ,यो दिनले हामी सबैलाई सधै देशभक्ति र लोकतन्त्रप्रति प्रतिवद्धताका लागि प्रेरणा दिइरहेको छ।यो दिवसले राजनीतिक दलहरुलाई राष्ट्रियता र लोकतन्त्रको संरक्षण र सम्बर्धनका लागि सहमति र सहकार्यका साथ अगाडि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु।ु
प्रधानमन्त्री देउवाले वीपी कोइराला २०३३ साल पुष १६ गते तत्कालिन राजनीतिक व्यवस्थाले लगाएका ठूला(ठूला मुद्दाको पनि परवाह नगरि ज्यानै जोखिममा पारेर राष्ट्रियताको संरक्षण र लोकतन्त्रको स्थापनाको उद्देश्यका साथ देशभित्र प्रवेश गरेको स्मरण गरेका छन्।
नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर आजकै दिन स्वदेश फर्किएका थिए। सोही दिनको अवसरमा पौष १६ गते कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदै आएका छन्।
यस्तै प्रधानमन्त्री देउवा आज अपरान्ह ३ बजे राष्ट्रिय एकता तथा मेलमिलाप दिवशको अवसरमा सुन्दरीजलस्थित वीपी संग्राहलय जाँदैछन्।