२०८३ भाद्र १ गते सोमवार

तास खेलेर हारेपछि साथीमाथि आक्रमण भएको प्रहरी आशंका

दाङ, पुस ८ । तास खेलेर पैंशा हारेपछि सँगै सुतेका तीन साथीमाथि एक जना साथीले नै तीन जना माथि रड प्रहार गरेको तथ्य उजागर भएको छ ।

रुन्टीगढी गाउँपालिका वडा नम्बर ९ का ४६ वर्षीय टेकबहादुर वलीले तास खेलेर हारेपछि एउटै कोठामा सुतेका तीन साथीमाथि मध्य रातमा रड प्रहार गरी गम्भीर घाइते तुल्याएको तथ्य प्रारम्भीक अनुसन्धानबाट उजागर भएको प्रहरीले जनाएको छ ।

रड प्रहारबाट रुन्टीगढी ७ का ३९ वर्षीय सरोज पुन, ४२ वर्षीय भीमबहादुर थापा र रुकुम पश्चिमको सानी भेरी गाउँपालिका ४ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका १२ बस्ने ४३ वर्षीय मैतबहादुर बिक गम्भीर घाइते रहेका छन् ।

घाइतेमध्ये थापा र विकको कोहलपुरमा र पुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। तीनै जनाको अवस्था गम्भीर रहेको रोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनीहरू मंगलबार राति रुन्टीगढीको होलेरी बजारस्थित ‘होलेरी गेष्ट हाउसमा’ बास बसेका थिए। घटना भएको थाहा पाएपछि बुधबार बिहान करिब ३ बजेतिर प्रहरी उक्त होटल पुगेर घाइतेको उद्धार गरि अस्पताल पु¥याएको थियो ।

घाइतेको अनुहार र टाउकोमा चोट छ। घाइतेमध्ये थापाको रा ४ प २५०० नम्बरको मोटरसाइकल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ स्थित हापुर खोलामा फेला परेको थियो ।

वलीले नै उक्त मोटरसाइकल चलाएर दाङमा छाडेको र आफु टिप्परमा चढेर रोल्पा फर्किएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *