२०८२ माघ १ गते बिहिवार

पाँच दिनको अवधिमा तीन गैंडा मरे

चितवन,पुस ७ । चितवनमा पाँच दिनको अवधिमा तीनवटा वयस्क गैंडा मरेका छन् । तर त्यसको विवरण चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छैन ।

निकुञ्जका अधिकारीले आफ्नो पालामा कम गैंडा मरेको भनेर जस लिन मृत्युको विवरण लुकाउने प्रयत्न गरेको हुनसक्ने कतिपयको अनुमान छ ।

गएको मंसिर २७ गते भरतपुर महानगरपालिका वडा नं. १६ मा एक गैंडा मृत फेला परेको थियो । सिद्धीगणेश सामुदायिक वनबाट नजिकै रहेको विजयनगरको गणेश मन्दिर जाने बाटो छेउको जैघाँस भएको खेतमा मृत अवस्थामा भेटिएको गैंडाको मृत्युको कारण अझै खुल्न सकेको छैन ।

विषालु मानिने जैघाँस खाएर गैंडा मरेको हुनसक्ने निकुञ्जको अनुमान छ । त्यसको दुई दिनपछि फेरि निकुञ्जको कोर क्षेत्रमा दुईवटा गैंडा मरेका छन् ।

यही पुस १ गते नै निकुञ्जको टाइगर टप्स क्षेत्रमा पर्ने भिम्ली भन्ने ठाउँको बगरमा २६/२७ वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको छ । स्रोतका अनुसार त्यसको भोलिपल्ट पनि निकुञ्जको नवलपरासी अमलटारी क्षेत्रको आइल्याण्ड क्षेत्रमा अन्दाजी २४/२५ वर्षको पोथी गैंडा मृत फेला परेको छ ।

तर यी दुवै गैंडा मरेको झण्डै एक साता हुँदासमेत चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले गैंडा मरेको जानकारी अहिलेसम्म गराएको छैन । गैंडा मरेको विषयमा पटक-पटक जानकारी लिन खोज्दा चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले ठोस जवाफ दिएनन् ।

उनले गैंडा मृत भेटिएको बताए पनि त्यसको विवरण ठ्याक्कै नभएको बताए ।दुवै गैंडा घोलमा भासिएर मरेको निकुञ्ज स्रोतले जनाएको छ । पुस १ र २ गते मरेका दुवै गैंडाको खाग र खुर भने सुरक्षित छन् ।

मंसिर २७ गते मरेको गैंडाको पनि खाग र खुर सुरक्षित छ । निकुञ्ज क्षेत्रभन्दा बाहिर वनको क्षेत्रमा गैंडा मरेकाले डिभिजन वन कार्यालयले नै घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले गैंडा मरेको जानकारी निकुञ्ज विभागमा गराइएको बताए ।

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *