सुर्खेत, पुस ६ । बलात्कार पीडित राउटे समुदायका युवतिको पहिचानसहित समाचार लेख्ने दाङका एग्गेबहादुर बुढामगरलाई जिल्ला अदालत सुर्खेतले कैद सजाएको फैसला सुनाएको छ ।
बुढा मगर दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का बासिन्दा हुन । उनी राप्ती पश्चिम डटकमका प्रकाशक ÷ सञ्चालक हुन ।
गुर्भाकोट नगरपालिका–९, आँपसोतीमा रहेका बेला जेठ २१ गते राउटे समुदायका दुई युवतीलाई सामान किन्न आएको बेला होटलमा जबजस्ती स्थानीय चमन घर्ती (जोगी), भुपेन्द्र बुढा र विनोद पुनलले बलात्कार गरेको भिडियो सार्वजनिक भएको थियो।
जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले बलात्कार पीडित युवतीको फोटो र नामसहित समाचार प्रकाशित गर्ने तथा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्ने बुढालाई पाँच महिना कैद र पाँच हजार रुपंैया जरिवानको फैसला सुनाएको अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।
उक्त अनलाइनका सञ्चालक बुढामगरले प्रतिवादी वकिलहरुका विरुद्ध समेत अनर्गल प्रचार गरेको प्रमाणित भएपछि पाँच महिना कैद र पाँच हजार जरिवानाको फैसला अदालतले सुनाएको हो।
बलात्कार जस्ता संवेदनशिल विषयका पीडितको पहिचान खोल्न पाइदैन ।
फैसलामा सामाजिक क्षेत्रमा समाचार सम्प्रेषण गर्नेहरुले परिणामको गाम्भीर्यतालाई समेत मध्यनजर गर्नुपर्ने भएपनि त्यसमा गम्भीर नभई पीडितहरुको पहिचान खुलाएको अवस्था रहेको हुँदा कानुनी कारवाही गर्नु परेको उल्लेख छ ।
पीडकहरुको तर्फबाट बहस गरेका वकीलहरु मोतिराम शर्मा, रामबहादुर भण्डारी र खेमराज जैसी तिवासीलाई सञ्चारकर्मी बुढामगरले फेसबुक स्टाटसमार्फत ‘बलात्कारी’ हरुबाट मोटो रकम लिएर बहस पैरवी गरेको दोषारोपन पनि गरेको अदालतले जनाएको छ ।
पीडकका तर्फबाट वकालत गर्ने वकीलहरुले बलात्कार पीडित राउटे युवतीको फोटो र नामसहित अनलाइनमा समाचार लेखेको तथा आफूहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै असोज १९ गते अदालतमा अपहेलना मुद्दा दायर गरेका थिए।
बुढामगरलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको थियो । बुढामगर दुई दिन प्रहरी हिरासतमा बसिसकेका छन ।
अदालतका सूचना अधिकारी पोखरेलले फैसलाको २४ घण्टाभित्रै सर्तसहित माफी मागेको खण्डमा कैद बस्नु पर्ने अवस्था नहुने जानकारी दिए ।
त्यसका लागि बुढामगरले जुन कुरा सामाजिक सञ्जाल प्रयोग गरी कसुर गरेका छन् ती कुरा सामाजिक सञ्जालमा क्षमायचना प्रकाशित गर्नुपर्ने हुन्छ ।
त्यसरी प्रकाशित सामग्री कम्तिमा पनि छ महिनासम्म सामाजिक सञ्जालमा रहनुपर्ने, प्राइभेट गर्न नपाइने, २४ घण्टाभित्र माफी मागेर त्यसको स्क्रिनशट सात दिनभित्र अदालतमा पेश गर्नु पर्ने हुन्छ ।