काठमाडौं,मंसिर २४ । आज७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्ष डिसेम्बर १० का दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको अवसरमा यो दिवस मनाउन थालिएको हो ।
मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै यो दिवस मनाउने गरिन्छ ।
राष्ट्रिय मानव अधिकार आयोगको तथ्याङ्कअनुसार पछिल्लो २० वर्षमा मानव अधिकार उल्लङ्घन, हत्या, हिंसालगायतका क्षेत्रसँग सम्बन्धित १२ हजार ८२५ वटा उजुरी दर्ता भएका थिए । तीमध्ये ६ हजार ६ सय १७ उजुरी फस्र्योट भएकोमा दोषीमाथि कानूनी कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन एक हजार १ सय ९५ सिफारिस गरिएको थियो ।सरकारलाई गरिएको सिफारिसको कार्यान्वयनको अवस्था भने निकै कमजोर छ ।
कारबाहीका लागि गरिएको सिफारिसमध्ये १३ दशमलव ६४ प्रतिशत मात्रै पूर्ण रूपमा कार्यान्वयन भएका छन् । ३७ दशमलव २३ प्रतिशत उजुरी आंशिक कार्यान्वयन भएको आयोगले जनाएको छ । दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देशमार्फत नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्य भए पश्चात मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनको कार्यमा अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रतिबद्धता जनाउँदै आएको उल्लेख गरे।
सोही प्रतिबद्धता अनुकूल हुने गरी नेपालको संविधानले विश्वव्यापी रूपमा स्वीकार गरिएका मानव अधिकार अन्तर्गतका प्रायः सबै अधिकारहरूलाई मौलिक हकको रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।