२०८३ बैशाख १६ गते बुधवार

काँग्रेस महाधिवेशमा भीडः जष्ट फर सेलीब्रेसन…


श्रीगाउँ (दाङ), मंसिर ४ । कस्तो उत्साहित भिड ? एक जनाको पुरा हुन नपाउंदै अर्काको जवाफ आयो, ‘इटइज जष्ट फर सेलिब्रेसन’…
उनी रोकिएनन् । अगाडि भने ‘ यो भिडले पार्टीको अन्तर संगठन विस्तार र आम निर्वाचनमा पार्टीलाई बलियो बनाउन कुनै अर्थ राख्दैन ।’
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत शनिबार प्रदेश नेतृत्व चुन्न मतदान हुँदा श्रीगाउँमा निकै भिडभडाका थियो ।
प्रदेश अधिवेशन अन्तरगत जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नंवर ३ (ख) अन्तर्गतको श्रीगाउं बुथमा निकै तामझाम र उत्साह थियो ।

जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका ६ वटा प्रदेश निर्वाचन क्षेत्र बुथहरुमा यस्तै उत्साह र चहलपहल थियो । जस्ले आम निर्वाचनको झझल्को दिन्थ्यो । यति धेरै तामझाम आवश्यक हो कि हैन ? त्यो आँफै मनन् गर्नुहोस ।दर्जनौ मोटर गाडी, मतदान स्थल नजिकै चलेको मेस, ठूला÷ठूला ब्यानर र पम्पिलेटहरु यस्तै थिए अधिबेशन स्थलहरु ।

निर्वाचनमा मतदाता भन्दा कयौं गुणा बढी मानिसहरुको भिडभाड जो थियो ।यो भिडसहितको उत्साह आम निर्वाचनमा पनि देखिने भए सायद कांग्रेसले यस क्षेत्रमा कहिल्यै निर्वाचनमा पराजय भोग्नुपर्ने अवस्था आउने थिएन ।

श्रीगाउं बुथमा भेटिएका कांग्रेस क्षेत्रीय प्रतिनिधि तथा शान्तिनगर गाउपालिका—६ देवीपुरका लोक वहादुर वलीले भनेका शब्द हुन यी ।
‘अर्को पार्टीसंग लड्दा यस्तै उत्साह र हौसला हुनुपर्दथ्यो,’ उनले भने ‘ जसरी अहिले पार्टी भित्रै जिम्मेवारी लिनका लागि शक्ति परिचालन भइरहेको छ, त्यसरी नै आम निर्वाचनमा पनि कांग्रेसलाई जिताउन एकताबद्ध रुपमा लाग्ने संस्कार विकाश भए कांग्रेसले निर्वाचनमा सहजै विजय हासिल गर्न सक्ने छ ।’

अर्का कांग्रेस शुभेच्छुक शान्तिनगर देवीपुरकै ज्ञानेन्द्रराज शर्माले पार्र्टीमा जिम्मेवार पद लिन मरीहत्ते गर्ने र नेतृत्व समेत लिएका व्यक्तिहरुबाटै आम निर्वाचनमा कताकता कांग्रेसको चुनावचिन्ह नै भुले जस्तो नतिजा आउने गरेको देख्दा आश्चर्य लाग्ने गरेको बताए ।
उनले भनेका थिए ‘यहाँ जो जसलाई देखिरहनु भएको छ, यी सवैले आम निर्वाचनमा कांग्रेसलाई जिताउन उनीहरु फेरि यसरी उत्साह देखाउने छैनन् ।’

उनले कांग्रेसमा संगठन सुद्धिकरणमा जोड दिए । कांग्रेस दाङका सचिव टेकबहादुर वलीले यहाँ कोही देखाउन, कोही भजाउन त कोही साँच्चिकै वलिदानी कै लागि आएको उनले तर्क गरे । ‘हो, सवैका फरक फरक इच्छाहरुको जमघट हो यो’, वलीको भने ‘दिस इज जष्ट फर सेलीब्रेसन।’उनले अब सेलिव्रेटीका लागि मात्रै एक्सपोज नभएर कांग्रेसलाई बलियो बनाएर आम निर्वाचनमा पहिलो पार्टी बनाउन लाग्नुपर्ने उनले बताए ।

निर्वाचन खर्च जुटाउनै मुस्किल

निर्वाचन क्षेत्र ३ (क) को दोघरे बुथमा पनि यस्तै उत्साहजनक सहभागिता थियो । संपर्क कार्यालय र मिट पोइन्ट (विशेष कामका लागि भेट्ने स्थल)मा पनि त्यस्तै भिडभाड । कसैलाई प्रचारप्रसारको व्यवस्थापनको चटारो देखिन्थ्यो भने कसैलाई मतदातालाई सुरक्षित राख्न होटलदेखि यातायात व्यवस्थापन सम्मको चटारो देखिन्थ्यो ।


‘ मलाई त काँग्रेसको परीमार्जित विधाननै ठिक लागेको छैन, दंगीशरणको मिरौलीका स्थानीय शंकरप्रसाद शर्माले भने ‘किनकी यो विधान अनुसार महाधिवेशनमा गैरहंदा उम्मेदवारहरुलाई खर्चको ब्यबस्थापन गर्न निकै समस्या पर्ने देखिन्छ ।’

जिल्ला, प्रदेश, पालिका र वडा अधिवेशन एकै पटक गराएको भए यतिधेरै खर्चिलो नहुने उनको बुझाई छ ।
प्रदेश अधिवेशनमा मतदान गर्न आउनेहरुलाई कम्तिमा पनि एकसाता सम्म गाँसबाँसको समेत व्यवस्थापन गर्नुपर्ने उम्मेदवारहरुलाई बाध्यता रहेको छ । यसले केही मतदाताहरुलाई कम्तिमा पनि एक साता सम्म होटलमै बसाउनुपर्ने पनि बाध्यता देखिएको शर्माले बताए ।
‘आज पश्चिम कुनो गंगटेबाट आउने मतदाताले एक दुई दिनको फरकमा र १०÷१२ गते सम्म मतदान गर्नुपर्ने छ,’ शर्माले भने ‘ यस्तो अवस्थामका जस्ले मतदातालाई सुरक्षित स्थानमा गाँसबाँसको व्यवस्थापन गर्न सक्छ मत पनि उसैले पाउन सक्छ । तर, उम्मेदवारलाई त्यो खर्च ब्यबस्थापन गर्न कम्ता चुनौति छैन्।’

उनले पनि अहिलेको परिस्थितिलाई हटाउन सवैभन्दा पहिले पार्टीको विधान संसोधन गर्न आवस्यक रहेको तर्क गरे ।
महाधिवेशनको मिति पटक पटक सारीदा खर्चको भार समेत थपिदै गएको निर्वाचन क्षेत्र नंवर २ (ख) नारायणपुर बुथमा भेटिएका एक उम्मेदवारले बताए । केन्द्रीय महाधिवेशन प्रतिनिधिका आकांक्षी उनी यसरी प्रचार प्रसारमा हिडेको कम्तिमा पनि ४ महिना पुगेको उनले बताए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *