
तुलसीपुर,असोज ७ । नेपाली काँग्रेसबाट तुलसीपुर उपमहानगरपालिकाको सभापतिका एक आकांक्षी शोभकार सापकोटाले सुरेश हमाललाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत असोज ९ गतेका लागि तोकिएको निर्वाचन आउन दूई दिन बाँकी रहँदा बिहीबार बिहान सापकोटाले हमाललाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन ।
हमाल र सापकोटा दुबै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीको टिमका हुन । एउटै टिमका दुबै लोकप्रिय युवा नेता एउटै पदका लागि भिड्न थालेपछि केन्द्रीय सदस्य गिरी र अन्य नेताहरुले सापकोटालाई आग्रह गरि उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै आएका थिए ।

हमाल र सापकोटा बिजिनेस पाटनर पनि हुन । त्यसैले हमाल आँफैले पनि सापकोटालाई ब्यक्तिगत रुपमा आग्रह गर्दै आएका थिए । केन्द्रीय सदस्य गिरीको टिमबाट नगर सभापतिको उम्मेदवार हमाल बनाइएपछि सापकोटाले आफ्नो ब्यबस्थापनको सवाल उठाउँदै आएका थिए ।
नेताहरु संगको छलफल पछि सापकोटाको माग सम्बोधन गर्ने जेन्टलम्यान सहमति पछि सापकोटाले उम्ेदवारी फिर्ता लिएर हमालको पक्षमा चुनाब प्रचार प्रशार अभियानमा लागेको एक नेताले जानकारी दिए ।
तुलसीपुर ६ स्थित हमालको सम्पर्क कार्यालयमा सापकोटाले उम्मेदवारी फिर्ताको घोषणा गर्दै सबै काँग्रेसका प्रतिनिधि तथा वडा सभापतिहरुलाई हमाललाई बिजयी बनाउन आग्रह समेत गरेका थिए ।
‘म पार्टीका अग्रज नेताहरुको हरेक निर्णय मान्न तयार छु,’ सापकोटाले भने ‘तर, पार्टीमा अनवरत रुपमा लागेकाहरुको क्षमताको सही मुल्याङकन हुनुपर्छ ।’
आँफूलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएकोमा सापकोटालाई नगरसभापति पदका उम्मेदवार हमालले धन्यबाद ज्ञापन गरेका थिए । हमालले ब्यक्तिगत रुपमा आँफूले र पार्टीको नेतृत्वले समेत सापकोटाको त्यागको उच्चसम्मान गर्दै भविस्यमा पार्टीमा उचित ब्यबस्थापन गर्नुपर्ने मागपनि गरेका थिए । सापकोटाले हमाल समर्थन जनाएपछि निर्वाचनको परिनाम आफ्नो पोल्टामा पार्न थप सहज भएको भन्दै हमाल नेतृत्वको टिम उत्साहीत बनेको छ ।