२०७८ कार्तिक १ गते सोमवार

तुलसीपुरमा काँग्रेस भित्र सहमतिको रोडम्याप बनाउने जिम्मा ५ नेतालाई

बिहान भर मन्त्रीसहित नेताहरुको बीचमा छलफल - बेलुका फेरि दूई गिरी दाजु भाइसहित छलफल हुने


तुलसीपुर, असोज ६ । तुलसीपुरमा सर्वसम्मत नेतृत्व चयन गर्न बारे नेताहरुका बीचमा छलफल भएको छ ।
बुधबार बिहान लुम्बिनी प्रदेशका ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्लीबहादुर चौधरीसहित प्रदेश सभा सदस्य शंकर गिरी, नेता केशब आचार्य, संविधानसभा सदस्य बुद्धिराम भण्डारी, नेताहरु भरत केसी, महादेब शाहका बीचमा तुलसीपुरस्थित एकान्त होटेलमा छलफल भएको हो ।

‘ पार्टीको निर्वाचनमा सकभर सर्वसम्मत रुपमा नेतृत्व चुन्न प्रयास गरौं भन्ने हाम्रो प्रयास हो,’ नेता केशब आचार्यले भने ‘ अहिले नगर र गाउँपालिकको निर्वाचनमा सहमति कायम गर्न संभव नभएपनि त्यसपछि हुने क्षेत्रीय अधिबेशनका लागि सहमति गर्नुपर्छ भन्ने सम्झदारी हामी बीच बनेको छ ।’

नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत असोज ९ गतेका दिन निर्वाचनको मिति तोकिएको नगर र पालिका स्तरिय निर्वाचनमा पनि सकभर सर्वसहमतिका लागि प्रयास गर्ने गरि गृहकार्य भइरहेको नेता आचार्यले बताए ।

जसका लागि बुधबार दिनभर नेताहरु बसेर सहमतिको रोडम्याप बनाउने गरि कसरतमा जुटेका छन् । सहमतिय रोडम्याप निर्माणका लागि जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्का, प्रदेशसभा सदस्य शंकर गिरी, संविधानसभा सदस्य बुद्धिराम भण्डारी, नेता केशब आचार्य र महादेब शाहलाई जिम्मेवारी दिइएको छ ।

‘आज दिनभर बसेर रोडम्याप तयार पार्ने र दिउँसो चार बजेतिर फेरि जिल्लाका तुलसीपुरमा उपलब्ध शिर्ष नेताहरुका बीचमा बैठक बस्ने सहमति बनेको छ,’ नेता आचार्यले भने ‘ हामीले स्थानीय पालिकाहरुमा यदी सहमति जुटाउन सकेनौं भनेपनि दाङ निर्वाचन क्षेत्र नं. ३ मा निकट भबिस्यमै हुने अधिबेशनलाई सहजिकरण गर्ने र सर्बसम्मत नेतृत्व चुन्न गरि पर्यत्न गर्ने छौं।’

रोडम्याप तयार पारेपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरी, पूर्व माननिय गेहेन्द्र गिरी लगाएतका टप लेबलका नेताहरुसहित बैठक हुने नेता आचार्यले बताए ।

‘ दूई गिरी दाजु भाइका बीचमा पनि वान टू वान कुरा हुन सक्ने संभावना छ,’ आचार्यले भने ‘त्यसो नभएपनि हामीहरु उहाँहरु दुबै जनालाई राखेर हामीले तयार पारेको सहमतिय रोडम्याप प्रस्तुत गर्ने छौं।’

काँग्रेसको नगर र पालिकास्तरिय अधिबेशन नजिक आएसंगै केन्द्रीय नेता तथा मन्त्रीहरु समेत तुलसीपुरमा आएर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो पक्षका उम्मेदवारलाई बिजयी बनाउन सक्रिय रहेका छन् । जसका लागि तुलसीपुर काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी, लुम्बिनी प्रदेशका ग्रामिण तथा शहरी बिकाश मन्त्री डिल्लीबहादुर चौधरी, पूर्व माननिय गेहेन्द्र गिरी, प्रदेश सभा सदस्य शंकर गिरी, संविधान सभा सदस्य बुद्धिराम भण्डारी सक्रिय बनेका छन् ।

केन्द्रीय सदस्य गिरी र प्रदेश मन्त्री चौधरी तुलसीपुरमा आएर थपक्कै बसेर बसेका छन् । उनीहरु सबैले अब असोज ९ गतेको निर्वाचन पछि मात्रै फर्किने योजना रहेको बताएका छन् ।

वार्तामा सहभागी अर्का एक नेताका अनुसार जति नै सहमतिको लागि प्रयास गरेपनि नगर र पालिका स्तरमा सहमतिको संभवाना न्यून रहेको बताए ।

‘ यसअघि भदौ २१ गते तोकिएको वडा नं. ५ को अधिबेशन सहमतिका नाममा २२ गते सारिएपनि सहमति कायम हुन सकेन,’ उनले प्रश्न गरे ‘अहिलेपनि हुने त्यही हो । सहमतिको प्रयास भन्ने तर, सबैले मेरै गोरुका बाह्रै टक्का भन्ने अडान नछोडेपछि कसरी सहमति बन्छ ।’

ती नेताका अनुसार यथार्थमा नेताहरुले आफ्नो राजनीतिका लागि युवाहरुलाई भिडाउने गरेको र आफ्नो माहोल नब्रिगियोस भनेर क्षेत्रमा भरि सर्वसम्मतिको वातावरण गराउन थालेका हुन । ‘यहाँ तुलसीपुरको नगरमा होमिएकाहरु मध्य कतिपयले लाखौं खर्च गरि सकेका छन्,’ उनले भने ‘के अब उनीहरुलाई ब्याक गराउन संभव छ ?’

लोकतान्त्रिक पार्टीमा लोकतान्त्रिक बिधि, निर्वाचन प्रद्धतिबाट नेतृत्व चुनिनु सुन्दर पक्ष भएपनि आन्तरिक पार्टीको चुनाबमा पनि बढी तडक भड्क गरिनु ठिक मान्न नसकिने उनले बताए ।

तुलसीपुर उपमहानगरपालिकामा केन्द्रीय सदस्य गिरीको प्यानलबाट सुरेश हमाल नेतृत्वको टिम र पूर्व माननिय गिरीको प्यानलबाट अनिल कार्की नेतृत्वको टिम चुनाबी प्रतिपर्धामा उत्रिएको छ । यी दुबै टिम आ–आफ्नो पक्षमा माहोल निर्माण गर्न तीब्र रुपमा चुनाबी प्रचार पशार अभियानमा सक्रियता पूर्वक लागेका छन् ।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *