२०८१ असोज २५ गते शुक्रवार

मेरो योगदान मैले वडाबासीलाई बुझाउन सकिन जस्तो लागेको छ – जनआन्दोलनका ज्यूँदो शहिद कृष्ण गिरी

दाङ,भदौ २८ । जनआन्दोलन २०६२÷०६३का जिउँदो शहिदका रुपमा चिनिने कृष्ण गिरी नेपाली काँग्रेसको १४औं महाधिबेशनका क्रममा क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् ।

२०६२ साल माघ २६ गते तत्कालिन शाही सरकारले स्थानीय तहको निर्वाचन गराउन खोजेपछि त्यसको बिरोधमा पर्दशनमा सहभागीहरु माथि घोराहीमा तत्कालिन शाही सेनाले गोली चलाउँदा गिरीलाई तीन गोली लागेपछि ह्विइचेयरको साहारामा जीउँदै आएका छन् । उनीसंगै आन्दोलनमा सहभागी मध्य उमेश चन्द्र थापाले शाहदत प्राप्त गरेका थिए । थापालाई २०६२÷०६३ आन्दोलनको प्रथम शहिदको उपमा दिइएको छ ।

ज्यूँदो शहिद गिरी आजपनि ह्विइ चियरमै छन् । ‘अझंैपनि मेरो शरिर भित्र गोली छँदैछन्,’ गिरीले भने ‘पाँचवटा करङ भाँचिएका छन् र दुबै खुट्टा गोलीले छिया छिया छन् ।’

तैपनि, गिरी आँफूहरु जस्ता सयौं हजारौंको आन्दोलनले नेपालमा लोकतान्त्रिक गणतन्त्र प्राप्त भएकोमा आजपनि औधी खुसी छन् ।
ज्यूँदा शहिद गिरीको योगदानको कदर गर्दै नेपाली काँग्रेस दाङले उनलाई यसअघि जिल्ला कार्यसमिति सदस्य पदमा मनोनित गरेको थियो ।

पाँच बर्ष अघि भएको स्थानीय तहको निर्वाचनको क्रममा गिरी जन्मथलो घोराही उपमहानगरपालिका वडा नं. ५ धर्नाको वडाध्यक्ष पदमा उम्मेदवारी दिन चाहेका थिए । पछि पार्टीको टिकट बिष्णु दाहाललाई दिएपछि गिरीले पनि उनको पक्षमा माहोल बनाउन खुलेरै भूमिका खेले ।

तर, पार्टीको १४औं महाधिबेशन अन्तरगत तीनै वडाध्यक्ष दाहालको एउटा छुट्टै टिम बन्यो । उनी उक्त वडाका काँग्रेस वडा सभापति पनि हुन । दाहालसंग असहमत मनोज केसीको नेतृत्वमा वडामा छुट्टै अर्कौ टिम बन्यो । गिरी केसीको टिमबाट क्षेत्रीय प्रतिनिधिमा भिडे । कुल ३१८ मतदातामा गिरीलाई १३३ मत प्राप्त भयो ।

केसीको टिम पुरै पराजित भयो । उनका टिमका जिल्ला समन्वय समिति दाङकी सदस्य लोका विश्वकर्मा र दलित संघका केन्द्रीय उपाध्यक्ष खड्गबहादुर विश्वकर्मापनि क्षेत्रीय प्रतिनिधिमा आउन सकेनन् ।

धर्ना नेपाली काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्काको पनि जन्मस्थल हो । त्यसैले त्यहाँ जहिलै सर्वसम्मत रुपमा वडा नेतृत्व चयन हुन्थ्यो । ‘मैले २०४६ सालपछि वडामा पार्टीको नेतृत्व चुन्न यसरी निर्वाचन भएकै थिएन,’ गिरीले भने ‘ अहिले हाम्रो पार्टीको आन्तरिक निर्वाचन भएपनि त्यो २०६४ सालको निर्वाचनको झल्को दिने खालको थियो ।’

सबैको सल्लाहमा अशक्त, दृष्टि बिहीन (आँखा कम देख्ने) मतदानका लागि एक जना सहयोगी लिन पाइने नियम बनाएको भएपनि त्यसको दुरुपयोग भएको गिरीले बताए । ‘एक जना क्षेत्रीय प्रतिनिधि समेतले आफ्नो भोट आँफै हाल्न नपाएको र अरु कसैले पहिलै उहाँको भोट हालिदिएको कुरा सुन्नमा आयो,’ गिरीले भने ‘पार्टीको आन्तरिक चुनावमा किर्ते गरि अर्काको भोट हाल्ने जस्तो जातिबित्ति होला भनेर मैले कहिलै सोचेकै थिइन ।’ आफ्नै संगठन भित्रका यस्ता गलत कुराहरु नियन्त्रण गर्न नसक्नु आफ्नो र आफ्नो समुहको कमजोरी रहेको उनले बताए ।

तर,ज्यूँदो शहिदको उपमाले चिनिने गिरीले पार्टीको आन्तरिक निर्वाचनको परीनामलाई आँफुले सहज रुपमा लिएको बताए । ‘यो एउटै पार्टी भित्रको आन्तरिक निर्वाचन हो,’ उनले भने ‘ त्यसैले मैले यसलाई सहज रुपमा लिएको छु ।’
महाधिबेशनका क्रममा आन्तरिक पार्टी भित्रको जित हारलाई सबै उम्मेदवारहरुले सहज रुपमा स्वीकार गर्नु लोकतान्त्रिक चरित्र भएको उनले तर्क गरे ।

‘ यो त एउटै पार्टी भित्रको निर्वाचन हो नि,’ गिरीले भने ‘ निर्वाचनमा सहभागी हुँदा जित हार सामान्ने नियम नै हो । अब जितेकाहरुले हारेकाहरुलाई उदार भावनाले समेट्न सक्नु पर्छ ।’

निर्वाचनमा सहभागी हुनु वा कुनैपनि खेलमा सहभागी बन्नेहरुले जित र हारलाई ईगोको रुपमा पाल्न नहुने उनले बताए । ‘खेलाडी राम्रो हुँदा हुँदैपनि कहिले काँही प्राबिधिक कारणहरुले गर्दापनि खेल हारिन्छ,’ गिरीले भने ‘तर, खेलमा सहभागी कुनैपनि खेलाडीले कति इमान्दारी पूर्वक खेलका नियम पालना ग¥यो भन्ने सवाल अहम हो ।’

निर्वाचनको नतिजा हेर्दा आफ्नो पहिचान सिंगो पार्टी, देश र जिल्लाका नेताहरुले बुझेको भएपनि आफ्नै वडामा पहिचान आँफैले दिन सकेन कि ? भन्ने भान भइरहेको गिरीले तर्क गरे । ‘मेरो योगदान र पहिचान बारे मेरै वडाका नेता कार्यकर्तालाई बुझाउन नसकेको जस्तो लागेको छ,’ उनले भने ‘ यो मेरो लागि ठूलो शिक्षा भएको छ, अर्कौ निर्वाचनमा पार्टीले विश्वास गरेमा म मेरो योगदान वडा बासीलाई बुझाउन प्रयत्न गर्ने छु।’

जनआन्दोलनका क्रममा गोली लागेर थलिएपछि गिरी घोराही बजारमा बस्दै आएका छन् । निर्वाचनको दिन भदौ २१ गते गाडीमा उनी आफ्नो जन्मथलो धर्नामा पुगेका थिए । काँग्रेसका क्रियासिल सदस्यहरु संग भोट मागेका थिए ।

गिरी आफुलाई पार्टी भित्रको निर्वाचनको परीनाम सामान्ने लागेको भएपनि बिभिन्न साथीहरुले सामाजिक सञ्जालहरुमा आफ्नो तस्बिर राखेर स्ट्याटस लखेको देख्दा भविस्यमा पार्टी भित्र थप सक्रियता बढाउने उर्जा पैदा भएको गिरीले टिप्पनी गरे ।

सामाजिक सञ्जालहरुमा गिरी क्षेत्रीय प्रतिनिधिमा पराजित भएपछि काँग्रेस भित्र एउटा बहस सृजना भएको देखिन्छ । धेरैले गिरीको योगदानको सही मूल्याङकन नभएको भन्दै मतदाता प्रति आक्रोश पोखेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *