
शंकर दिवस मज्गैंया
तुलसीपुर, भदौ २७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ५ मा क्षत्रीय प्रतिनिधिको टुंगो गोला पर्थाबाट गरिएको छ ।
जिल्ला निर्वाचन समितिका पदाधिकारीले आँफै गोला तानेर एकजना क्षेत्रीय प्रतिनिधिलाई निर्वाचित गराएका छन् ।
भदौ २२ गते दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा भएको मतदानबाट क्षेत्रीय प्रतिनिधितर्फ शंकर दिवस मज्गैंया, यमकान्त भण्डारी र जितेन्द्रप्रकाश वलीको बराबर एक सय ४२÷ एक सय ४२ मत मत प्राप्त गरेका थिए ।
जिल्ला निर्वाचन समितिमा भएको गोला पर्थाबाट शंकर दिवस मज्गैंया क्षेत्रीय प्रतिनिधिमा शनिबार निर्वाचित भएका हुन । त्यसअघि भदौ २४ गते तीन जनाको बराबर मत आएपछि पुनः मत गणना गर्न खोजिएको थियो ।
तर, कुल खसेको तीन सय १२ मत मध्य मतगणना गर्ने क्रममा ५० मतको एउटा बण्डल नै फेला नपरेपछि त्यो मत गणना रोकिएको थियो । त्यसपछि घोराहीस्थित जिल्ला निर्वाचन समितिका पदाधिकारीले गोला तानेर मज्गैंयालाई बिजयी भएको घोषणा गरेका हुन ।
क्षेत्रीय प्रतिनिधि पदका एकजना प्रतिष्पर्धी जितेन्द्रप्रकाश वलीले समान मत प्राप्त गरेका सबै उम्मेदवारको उपस्थितिमा गोला तान्नु पर्नेमा त्यसो नगरिनुले आँफुहरुको अधिकार हनन् भएको भन्दै असन्तुष्टि जाहेर गरे ।

ओपेन्द्र खत्री
निर्वाचन समितिका पदाधिकारीले आँफुलाई गोला तान्नु पूर्व कुनै सूचना नदिएको र अरु निर्वाचित भइसक्दा पनि त्यसबारे आधिकारिक रुपमा निर्वाचन समितिका पदाधिकारीले कुनै जानकारी नदिनु बदमासी भएको वलीको आरोप छ ।
जिल्ला निर्वाचन समितिका सहायक निर्वाचन अधिकृत कुमारराज श्रेष्ठले तुलसीपुर वडा नं. ५ का वडा सचिव ओपेन्द्र खत्रीलाई गोला तान्दा उपस्थित गराएको हुँदा कुनैपनि आशंका नगर्न आग्रह गरे ।
त्यस्तै वडा सचिव पदमा बराबरी मत प्राप्त गरेका दूई मध्य आपसी समझदारीमा एक जनालाई बिजयी घोषणा गरिएको जिल्ला निर्वाचन समितिका सहायक निर्वाचन अधिकृत श्रेष्ठले बताए ।
वडा सचिव पदका उम्मेदवारहरु मन्दागिनी खड्का र ओपेन्द्र खत्रीको बराबर १४९ मत प्राप्त गरेका थिए । उनीहरु मध्य खत्रीलाई सम्झदारीमा सचिव पदमा निर्वाचित भएको घोषणा गरिएको छ ।
त्यसअघि बिहीबार पुनः मतगणना गर्न खोज्दा वडा सचिव र क्षेत्रीय प्रतिनिधि तर्फको ५० मतको एउटा बण्डल नै फेला पर्न नसकेपछि मतगणना स्थगित भएको थियो ।