काँग्रेस दाङमा ६० वडामा सर्वसम्मत, २० वडामा केही पदमा र थप २० वडामा प्यानलवाईज निर्वाचन तुलसीपुर, भदौ २७ । नेपाली काँग्रेसको १४ महाधिबेशन अन्तरगत भदौ २१ र २२ गते भएको निर्वाचनको परीनाम लगभग सबै प्राप्त भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बाहेक जिल्लाका ९९ वडाहरुको मत प्राप्त भइसकेको निर्वाचन समितिका जिल्ला सदस्य युवराज बस्नेतले फरककोणलाई बताए ।
काँग्रेसको १४औं महाधिबेशन अन्तरगत भएको वडा अधिबेशनमा दाङका ६० वडामा सर्वसम्मत, २० वडाका केही पद (कलस्टरहरुमा) मात्रै मतदान र थप २० वडामा पुरै प्यानलवाईज निर्वाचन भएको बस्नेतले जानकारी दिए ।
दाङका एक सय वडाहरु मध्य तुलसीपुर उपमहानगरपालिकाका तीन वडाहरु बाहेक सबैमा भदौ २१ वडा तथा क्षेत्रीय प्रतिनिधि चुन्ने काम सम्पन्न भइसकेको थियो ।
जिल्लाको सबैभन्दा बढी क्रियासिल सदस्य रहेको वडा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा पनि भदौ म २१ गते नै निर्वाचन भएको हो । तर, हप्ता दिन बितिसक्दा पनि त्यहाँको निर्वाचनको परीनाम भने जिल्ला निर्वाचन समितिको सचिवालयमा आइतबार यो खवर तयार पार्दासम्म बुझाइएको छैन ।
जिल्ला निर्वाचन समितिका बस्नेतले प्राबिधिक कारणले गर्दा तुलसीपुर ११ को निर्वाचनको परीनाम आइ नसकेको बताए । ‘त्यहाँ खर्च धेरै देखाइएको छ,’ बस्नेतले भने ‘ एक लाख खर्च भएको बिवरण निर्वाचन अधिकृतले प्रस्तुत गरेपछि अलिकति समस्या भएको छ ।’
जिल्ला निर्वाचन समितिले त्यसमध्य २५ प्रतिसत खर्च कटाएर परीनाम बुझाउन आँफुहरुले ताकेता गरेको बस्नेतले बताए । उनले आइतबार दिउँसोसम्म मत परीनाम जिल्ला निर्वाचन समितिको सचिवालयमा आइपुग्ने आशा ब्यक्त गरे ।