तुलसीपुर, भदौ २३ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसंगै दाङमा अब नगर अधिबेशनको चर्चा सुरु भएको छ । यही भदौ २९ गतेका दिन नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकको नेतृत्व चुन्ने गरि अधिबेशनको मिति तोकिएको छ ।
यो संगै तुलसीपुर उपमहानगरपालिकामा संभावित आकांक्षीहरुको चर्चा सुरु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बाट सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधिमा चुनिएका यातायात ब्यबसायी तथा काँग्रेसका युवा नेता सुरेश हमाल नगरसभापतिका एक आकांक्षी हुन । हमाल राप्ती बबई क्याम्पसमा २०५५ सालतिर नेविसंघको तर्फबाट चुनाब लडेर स्ववियू कोषाध्यक्षमा निर्वाचित भएका ब्यक्ति हुन । युवामाझ निकै लोकप्रिय हमालको हाल बिभिन्न क्षेत्रमा लगानी छ ।
स्रोतका अनुसार हमाल नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरीको तर्फबाट तुलसीपुर नगर सभापतिका एक्ला उम्मेदवार हुन ।
त्यस्तै २०६५ सालमा राप्ती बबई क्याम्पसमा नेविसंघको तर्फबाट चुनाम लडेर स्वबियू सभापतिमा निर्वाचित अनिल कार्की नगर सभापतिका अर्का एक आकांक्षी हुन । त्यसपछि स्ववियु निर्वाचन हुन नसकेको हुँदा हालसम्म पनि कार्की नै स्वबियू सभापतिको अस्तित्वमा कायमै छन् । कार्की भदौ २२ गते तुलसीपुर ५ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका ब्यक्ति हुन ।
युवामाझ लोकप्रिय छबि बनाएका कार्की नेपाली काँग्रेस दाङका पूर्व सभापति तथा पूर्व माननिय गेहेन्द्र गिरीको प्यानलबाट क्षेत्रीय प्रतिनिधिमा लोकप्रिय मत पाएर निर्वाचित हुने मध्यका एक युवा हुन ।
राप्ती बबई क्याम्पसमा नेविसंघको राजनीति गरेका र लोकप्रिय छबि बनाएका हमाल र कार्की बीच प्रतिपर्धा हुने हल्लाले काँग्रेस भित्रको राजनीति तरंगित हुन थालेको छ ।
केन्द्रीय सदस्य गिरी र पूर्व माननिय गिरी नाताले दाजु भाइ भएपनि पार्टी भित्र फरक-फरक गुट सञचालन गर्दै आएका छन् । त्यसैले उनीहरुले आ–आफ्नो गुट निर्माण गरि उम्मेदवार खडा गरि प्रतिपर्धा गर्दै आएका छन् ।