
दाङ, भदौ २२ । वाइसियलले नेविसंघका दूई नेता कुटेको बिरोधमा नेपाली काँग्रेसले मंगलबार रुकुमको चौरजहारी बन्द आह्वान गरेको छ ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघका दिपेश ओली र दिलबहादुर ओलीलाई नेकपा माओवादीको युवा संगठन वाइसियलका चौरजहारी नगर अध्यक्ष लालबहादुर कटुवाल सहित ८ जनाको समुहले भदौ २० गते कुटपिट गरेको थियो ।
उक्त दिन नेपाली काँग्रेसले चौजहारीमा आयोजना गरेको नगर भेलामा सहभागी भएको भन्दै कार्यक्रमबाट फर्कदै गरेका ओली द्धयमाथि बेलुका सात बजेतिर कटुवालको नेतृत्वमा कुटपिट भएको थियो ।
नेपाली काँग्रेस चौरजहारी नगर सभापति परमेश्वर भण्डारीले जारी गरेको बिज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।
घाइते द्धयको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।

सभापति भण्डारीले बाटो ढुकेर नेविसंघका नेता ओली द्धयमाथि आक्रमण गर्ने वाइसियलका कटुवालसहित ८ जनालाई चौरजहारी नगर प्रमुखले संरक्षण गरिरहेको भन्दै तत्काल दोषीलाई पक्राउ गरि कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन् ।
दोषीलाई पक्राउ गरि कानुनी कारबाहीको दायरामा नल्याउँदा सम्म काँग्रेस चुप लागेर नबस्ने भण्डारीले बताएका छन् । काँग्रेसको बन्दका कारण मंगलबार बिहानै देखि यातायात, बजार, कलकारखाना सबै ठप्प भएका छन् ।