
तुलसीपुर, भदौ ६ । काम गर्ने वातावरण नभएको भन्दै तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलीले पदबाट राजीनामा दिएका छन् ।
आइतवार कार्यालयमै पत्रकार सम्मेलन गरेर उनले राजीनामा घोषणा गरेका हुन । काम गर्ने वातावरण नभएको भन्दै उनले पदबाट राजीनामा दिएको तर्क गरे ।
‘एक वर्षदेखि मैले काम गर्ने बातावरण पाइन,’ उनले भने ‘मैले यस्तो अवस्थामा पदमा बसिरहन उचित ठानिन र पदबाट राजीनामा दिएको हुँ ।’ उनले आफ्ना बिरुद्ध कार्यसमितिकै पदाधिकारीले समेत घेराबन्दी गरेको दोषारोपन गरे ।
‘कार्यसमिति भित्रबाटै मलाई सिध्याउने षड्यन्त भए,’ वलीले भने ‘मलाई भ्रष्टाचारीको बिल्ला लगाउन खोजीयो ।’ संस्थाको तहस नहस र लथालिङग बनाउन खोज्नेहरुले आँफुलेपनि काम नगर्ने र अरुलाई पनि काम गर्नका लागि वातावरण निर्माण हुनु नदिने दाउपेचमा लागेको हुँदा आँफुले पदबाट राजीनमा दिएर मार्ग प्रसस्त गरिदिएको तर्क गरे ।
तुलसीपुर खानेपानी संस्थाबारे उच्च अदालत तुलसीपुरमा उपभोक्ताले दायर गरेको मुद्दा बिचाराधिन छ । अदालतकै कारण यसअघि गत चैत तिर अध्यक्ष वलीले गर्न खोजेको खानेपानीको अधिबेशन समेत अनिश्चित कालकाका लागि स्थगित भएको थियो ।
वली २०७४ सालमा भएको ९औं अधिबेशनबाट चौथो कार्यकालको लागि नेतृत्वमा निर्वाचित भएका थिए । तर उक्त कार्यसमितिको पदावधि सकिएको १७ महिना पुगिसक्दा पनि निर्वाचन हुन सकेको छैन ।