
लक्ष्मण बस्नेत,तुलसीपुर,साउन ६ । तुलसीपुर उपमहानगरपालिका वडा नं ८ को अश्वारामा संचालित वडा स्तरिय फुटबल प्रतियोगिता २०७८ को उपाधी टिकरी युथ क्लबले जितेको छ ।
अश्वारा युथ क्लव तुलसीपुर ८ को आयोजनामा माबी अश्वाराको खेल मैदानमा सम्पन्न खेलमा बि.वाई.सि युथ क्लब बुटुनियालाई शून्यका बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै टिकरी युथ क्लबले उपाधी जितेको हो ।
उपाधीसंगै उसले नगद १२ हजार १ सय तथा प्रमाणपत्र हात पार्यो । फाईनलमा सम्मानजनक हार ब्यहोरेको बि.वाई.सी. उपबिजेतामा सिमित रहदै नगद ५ हजार १ सय र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
स्थानीय स्तरका दर्शकहरुको सानदार उपस्थितीमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको ५५ औ मिनेटमा जर्सि न ४० का समिर डाँगीले गरेको गोल नै निर्णायक गोल सावित भयो ।
प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा देबराज बस्नेत, नबिन सेन ठकुरी र बिवेक खड्का रहेका थिए ।
साउन १ गते देखि सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।
यसैबिच प्रतियोगिताको समापन समारोह अश्वारा युथ क्लबका अध्यक्ष प्रबिनसेन ठकुरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न.८ का वडा अध्यक्ष बेदबहादुर केसीको प्रमुख आतिथ्यता एंव खेलप्रेमी युवा समाजसेवी किरणबहादुर शाह र नारायण भट्टराईको बिशिस्ट आतिथ्यतामा भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले खेलकुद मानव जिवनको अभिन्न अंग भएको बताए । मानव स्वास्थ्यसंगै राष्को सान र गौरव उच्च राख्ने एक दरिलो माध्यम खेलकुद नै रहेको भन्दै उनले यसको उच्च आदर्शलाई खेलाडीले आत्मसात गर्दै अनुशासन पुर्वक खेल खेल्न आग्रह गरे ।
साथै उनले वडामा स्थापित क्लब तथा खेलाडीहरुलाई लक्षित गर्दै खेलमैदान निर्माण र आवश्यक खेल सामग्री उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेका स्वकीय सचिव धर्म वलि,समासेवी जुद्वबहादुर खत्री लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अबसरमा प्रतियोगिता अबधिभर सात गोल गर्ने टिकरी युथ क्लबका क्याप्टेन जर्सी न ११ का सन्दिप बिकलाई सर्वाधिक गोलकर्ता घोषित गरिएको थियो ।
श्रीधर साहुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गङ्गाराम बस्नेतले गरेका थिए ।