तुलसीपुर,असार १० ।तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ३ अर्ब ३९ करोड ९६ लाख १५ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । बिहीवारको ९औं नगरसभामा उपप्रमुख माया शर्माले आगामी वर्षका लागि ३ अर्ब ३९ करोड ९६ लाख १५ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेकी हुन ।
कोभिडको संक्रमणलाई मध्यनजर गर्दै यस वर्ष स्वास्थ्य, कृषि, रोजगार, गरिबी निवारण तथा शिक्षालाई प्राथमिकतामा राखेर तुलसीपुरले वजेट विनियोजन गरेको छ ।
जसमा आन्तरिक श्रोतबाट ६० करोड, संघीय सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाडबाट २ अर्ब १७ करोड ९६ लाख १५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाडबाट ९ करोड, ७८ लाख १९ हजार र अन्य संघ संस्थाहरुबाट प्राप्त रकम २ करोड २५ लाख अनुमान गरिएको छ ।
सबै गरि आए तर्फ २ अरब १७ करोड ९६ लाख १५ हजार आय र १ अरब २ करोड न्यून आय प्रस्तुत गरिएको छ ।
त्यसमध्ये नगर विकास कोषको ऋण सहयोगबाट ४० करोड, आन्तरिक ऋण तथा बहुबर्षिय दायित्वबाट ६० करोड र आन्तरिक बचतबाट २ करोड पूर्ति गर्ने व्यवस्था गरिएको उपमेयर आचार्यले बताइन । त्यसैगरी पुँजिगततर्फ नगर र वडास्तरिय पूर्वाधार विकास र अन्य सशर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि १ अरब ६२ करोड १६ लाख १६ हजारको अनुमानित वजेट विनियोजन गरिएको छ । जुन कुल बजेटको ४७.७० प्रतिशत हुन आउँछ ।
सामाजिक सुरक्षा तर्फ ४० करोड बजेट विनियोजन गरिएको छ । जुन कुल विनियोजित बजेटको ११.८० प्रतिशत हो ।
चालुतर्फ प्रशासनिक खर्च र अन्य सञ्चालन खर्च लगाएत कार्यक्रम खर्च तर्फ १ अरब ३५ करोड ६९ लाख ९२ हजार विनियोजन गरिएको छ ।
वित्तिय खर्च तर्फ २ करोड १० लाख विनियोजन गरिएको छ । सार्वजनिक गरिएको बजेट आर्थिक बर्ष २०७७÷७८ को विनियोजित बजेटको तुलनामा २५ प्रतिशत र २०७८ जेठ मसान्त सम्मको खर्चको तुलनामा ६० प्रतिशतले बढी रहेको उपप्रमुख आचार्यले बताइन ।
त्यस्तै समाजिक विकास स्वास्थ्य तथा पोषण तर्फ तुलसीपुरले स्थापना गरि सञ्चालनमा ल्याएको १५ शैयाको तुलसीपुर मेट्रो अस्पताललाई ५० शैयामा स्तरोन्नती गरि उपचार सेवा विस्तारका लागि ५ करोड वजेट विनियोजन गरिएको छ ।
कोभिड १९ महामारीको सम्भावित तेश्रो लहरबाट नागरिकहरुलाई सुरक्षित राख्नका लागि पूर्व तयारी तथा प्रतिकार्यका लागि २ करोड बजेट विनियोजन गरिएको छ ।
सवै स्वास्थ्य संस्थाहरुमा आधारभुत ल्याव सेवा संचालन, आफ्नै औषधि भण्डारण भवन तथा खोप कोल्डचेन, निर्माण गर्न १ करोड बजेट बिनियोजन गरिएको छ ।
शिक्षा तर्फ तुलसीपुर मेट्रो कलेज, तुलसीपुर बहुप्राविधिक शिक्षालय भवन तथा अन्य पूर्वाधारका लागि संघ तथा प्रदेश सरकारको विशेष अनुदानमा १५ करोड रकम विनियोजनको गरिएको छ ।उपहानगरपालिकाको तर्फबाट शैक्षिक कार्यक्रम सञ्चालन तथा तत्काल पूर्बाधार विकासका लागि २ करोड रकम विनियोजन गरिएको छ ।
प्राबिधिक शिक्षा र उच्च शिक्षामा सामुदायिक बिद्यालयबाट सामुदायिक तथा सरकारी क्याम्पसमा अध्ययन गर्ने छात्रा र दलित, आदिवासी, जनजाति, शहिद परिवार, जनयुद्ध तथा जनआन्दोलनका घाइते र द्धन्द पीडित परिवारकालाई निशुल्क अध्ययन अध्यापन गर्न मेयर उच्च शिक्षा छात्रबृत्ती कार्यक्रम प्रदान गर्न ५० लाख बजेट बिनियोजित गरिएको छ ।
कृषि तथा पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउन तुलसीपुर मेट्रो कृषि तथा पशुपंक्षी अस्पताल सञ्चालन एवं प्रयोगशाला निर्माण तथा दुर्गम क्षेत्रमा घुम्ति शिविर सञ्चालन गर्न ५० लाख बजेट व्यवस्था गरिएको छ ।
सार्वजनिक, निजी तथा सहकारीको सहलगानिमा तुलसीपुर आधुनिक बधशाला निर्माण तथा सञ्चालनका लागी ३ करोड रकम व्यवस्था गरिएको छ ।
मेयर युवा उद्यमशिलता र उपमेयर महिला उद्यमशिलता कार्यक्रम सञ्चालन तथा प्रबद्र्धन गर्न १ करोड बजेट विनियोजन गरिएको छ ।
कोभिड १९ लगायत अन्य विपद जोखिम न्युनिकरण, उद्धार, राहत, पुर्नंस्थापन लगायतको कामका लागि विपद् व्यवस्थापन कोष सञ्चालन गर्न ५ करोड विनियोजन गरिएको छ ।
सरसफाई तथा फोहर व्यवस्थापन, दिर्घकालिन ल्याण्डफिल साइटको व्यवस्था र फोहोरलाई वर्गीकरण तथा व्यवस्थापनका लागि १ करोड २५ लाख विनियोजन गरिएको छ ।
उपमेयर लैंगिक हिंसा सुरक्षा घर (सेफ हाउस) भवन निर्माण गर्न ५० लाख विनियोजन गरिएको छ ।
आर्थिक बर्ष २०७७÷०७८ मा सम्झौता भई काम सम्पन्न हुन नसकेका बहुबर्षिय आयोजनाहरुलाई निरन्तरता दिदै सो आयोजनाहरुको रकम भुक्तानी गर्न ६० करोड बजेट छुट्याइएको छ ।
त्यसमा बहुबर्षिय दायित्व अन्तरगत राप्ति आँखा अस्पताल भवन निर्माणका लागि ८० लाख ९० हजार, मन्दिर व्यवस्थापन समितिको सहकार्यमा शितलपुरमा शिव मन्दिर भवन निर्माणका लागि ९४ लाख ९२ हजार रकम विनियोजन गरिएको छ ।
मूख्य सडक, चोक, बसपार्क तथा सार्वजनिक स्थलमा रातिमा उज्यालो बनाउन तुलसीपुर उज्यालो सहर कार्यक्रमका लागि ५० लाख विनियोजन गरिएको छ ।
बहुबर्षिय दायित्व अन्तर्गत वडा नं. ४ चारबाटो चोक, गहते वनहरी खाद्रे हुँदै माथिल्लो हलवार जाने सडक आरसिसी तथा नाला निर्माण गर्न ७० लाख ९० हजार, वडा नं. १५ पहरुवा सडक र धमकापुर–भोजपुर सडक कालोपत्रे गर्न १ करोड, ठाँटीगाउ भमके खोलामा पुल निर्माण गर्न ३ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
तुलसीपुर चक्रपथ निर्माणलाई निरन्तरता दिन प्रदेश सरकार मार्फत १ कारोड ५० लाख बजेट व्यवस्था गरिएको छ ।
सिंचाई तथा खानेपानी तर्फ खेतियोग्य सबै जमिनमा सिंचाई सुविधा विस्तार,पानी भण्डारण क्षमता बृद्धि, डिपवोरिंग, पानीका स्रोत संरक्षण र नगरका साना खोलाहरुमा हार्भेष्टिङ ड्याम निर्माण गर्न २ करोड विनियोजन गरिएको छ ।
खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रमका लागि १ करोड विनियोजन गरिएको छ ।
न्यून आय भएका परिवारका लागि जनता आवास कार्यक्रम अन्तर्गत खरको छानो मुक्त गरेर जस्तापाता वितरणका लागि मेयर सुरक्षित आवास कार्यक्रमका लागि २ करोड विनियोजन गरिएको उपप्रमुख माया शर्माले जानकारी दिइन ।