तुलसीपुर, असार ७ । दाङको लमहीमा बन्धक बनाइ जबरजस्ती बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
आरोपित दूई जना फरार रहेका छन् ।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले लमही नगरपालिका वडा नम्बर ७ स्थित कमानपुरको जंगलमा तीन जनाको समूहले दुई महिलालाई बन्धक बनाई जंगलमा लगेर बलात्कार गरेको अभियोगमा किरण बुढालाई पक्राउ गरिएको जानकारी दिए ।
पीडित महिलाले आफुलाई रातिको समयमा बन्धक बनाई जबरजस्ती जंगलमा लगि बलात्कार तथा लुटपाट गरेको जाहेरी दिएपछि बुढालाई प्रहरीले पक्राउ गरेको हो ।
आइतरबा राति साढे ९ बजेतिर सम्राट सिमेन्ट उद्योगबाट रा १ ख २४१९ नम्बरको टिप्पर फर्कदै गर्दा मोटरसाइकलमा रहेका तीन जना युवाले बाटो छेकेर दूई महिलालाई जबरजस्ती उठाएर लगेका थिए ।
टिप्पर चालक र सहचालकलाई रुखमा बाँधेर टिप्परमा सवार चालककी श्रीमती र सालीलाई बन्धक बनाई जंगलमा लगेर उनीहरुले बलात्कार तथा लुटपाट गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले चालक र सहचालकमाथि कुटपिट गरेको पीडितले जाहेरीमा उल्लेख गरेका छन् । तरबारसहित रहेका ती युवाले हतियार देखाएर महिलाहरुलाई बन्धक बनाइ जंगलमा लगेर बलात्कार गरेको प्रहरीको भनाई छ ।
प्रहरीले घटनामा संलग्नमाथि अपहरण, लुटपाट, जवरस्ती करणी गरि चारवटा मुद्दा चलाउने तयारी गरेको छ ।
प्रहरीले सोमबार बिहान साढे ३ बजे मात्रै घटनाबारे सूचना पाएको जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
चालक टिप्परसहित आफ्नी श्रीमतिका साथ रोल्पाबाट चुनढुंगा बोकेर सम्राट सिमेन्ट उद्योगमा छोडेर लमही तर्फ जाँदै गर्दा तीन जनाले बाटो छेकेर उनीहरुलाई बन्धक बनाएका थिए ।