
फाइल तस्विर
दाङ, जेठ १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बालुवा–गिट्टीको निकासीले चुरे क्षेत्रको बिनाश नहुने बताएका छन् ।
उनले बालुवा, गिट्टीको निकासीको बिषयलाई चुरे क्षेत्रको विनाश संग जोडेर भ्रम सृजना नगर्न आग्रह पनि गरेका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै मुख्य मन्त्री पोखरेलले उल्टै बालुवा, गिट्टी, ढंगा जस्ता कुराहरुको निकासीले चुरे क्षेत्रको संरक्षणमा योगदान पुग्ने दाबी गरेका छन् ।
जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट वक्तव्यमा ढुंगा, गिट्टी, बालुवा निकासीबाट आम्दानी गरी व्यापार घाटा कम गर्ने घोषणा गरेका थिए । सरकारको उक्त घोषणाको चौतर्फी बिरोध भइरहेको समयमा मुख्य मन्त्री पोखरेलले त्यसको बचाउ गर्दै स्ट्याटस लेखका छन् ।
लुम्बिनी पद्रदेश सरकारले बालुवा – गिट्टी निकासीका सम्बन्धमा केन्द्र सरकारलाई पहिलेदेखि नै ध्यानार्षण गराउँदै आएको बताएका छन् । वातावरणीय अध्ययन गरी ढुंगे पहाडलाई खानी क्षेत्रका रूपमा छुट्टयाई निकासी गर्न अनुमति दिनुपर्ने उनले उल्लेख गरेका छन् ।
त्यसरी खानी परिचान गर्दा सडक यातायातमा समेत असर पर्न नदिने गरि रोपवेको प्रयोग गर्ने नीति सरकारले अघि सारेको उनले बताएका छन् । साथै उनले बजेट कार्यक्रममा प्रस्तुत भएको तराईका नदी खोलाको ढुंगा, बालुवा वा चुरे उत्खनन गरी निकासी गर्न अनुमति दिनका लागि नभएको समेत दाबी गरेका छन् ।
नदी खोलाका निर्माण सामग्रीको नेपालमै अभाव रहेको हुँदा वातावरणीय अध्ययन गरी ढुंगे पहाडलाई खानी क्षेत्रका रूपमा छुट्याई निकासी गर्न अनुमति दिनुपर्ने उनले बताएका छन् ।
मुख्य मन्त्रीले उक्त कार्यले चुरेमा हुने अबैध उत्खनन् समेत रोकिने र तराईका खेतियोग्य जमिनको सुरक्षा हुने जिकिर गरेका छन् । उनले त्यसबाट नेपालको ब्यापार घाटा समेत कम गर्न मदत पुग्ने दाबी गरेका छन् । उनले त्यसबाट नेपालको बिकाशको लागि बिदेशी ऋणको मात्रा कम गर्न सहयोग पुग्ने उल्लेख गरेका छन् ।