
तस्विर : शरद रेग्मी
तुलसीपुर , जेठ १६ । लुम्बिनी प्रदेशबाट रिक्त रहेको राष्ट्रिय सभा सदस्यको सोमबार घोराहीमा मतदान हुने भएको छ ।जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुंवर सबै तयारी पुरा भइसकेको बताए ।घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा सोमबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदानको लागि समय तोकिएको छ ।मतदानका लागि मिलन केन्द्रमा ३ वटा मतदान केन्द्र निर्माण गरिएका छन् । कोरोना पोजेटिभ जनप्रतिनिधिका लागि अलग्गै ‘ग’ मतदान केन्द्र निर्माण गरिएको छ । मतदान सकिएको लगतै मत गणना सुरु गर्ने र त्यसको एकाध घन्टा भित्रै मत परिनाम सार्वजनिक हुने सरोकारवालाहरुले बताएका छन् ।
पाण्डे कि खड्का ?
निर्वाचनमा एमालेबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धन नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टीका उपेन्द्र यादब र बाबुराम भट्टराई समुह, राष्ट्रिय जनमोर्चाको तर्फबाट दृगनारायण पाण्डे प्रतिपर्धामा उत्रिएका छन् ।
अर्घाखाँची जिल्लामा माओवादी केन्द्रबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त पदमा सोमबार निर्वाचन हुन लागेको हो।त्यस्तै कपिलबस्तुका पाण्डेपनि प्रदेश सभा सदस्यबाट राजीनामा दिंदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका नेता हुन । यी दूई बीचको प्रतिष्पर्धालाई निकै रोचकका साथ हेरिएको छ ।
यस्तो छ, अंकगणित
लुम्बिनी प्रदेशमा कुल ८३ जना प्रदेशसभा सदस्यले मताधिकार पाएका छन् । निर्वाचन आयोगले आइतबार दिउँसो पाँच बजेतिर मात्रै राष्ट्रिय जनता पार्टीबाट मन्त्री बनेका चार जना सांसदलाई पनि पुरुक मतदातको अधिकार दिएको छ ।
यो निर्णय संगै अब आइतबार दिउँसो सम्म मताधिकारबाट बञ्चित रहेका मन्त्री समेत रहेका जसपा सांसदहरु कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय,सुमन शर्मा रायमाझी र विजयबहादुर यादवले पनि मताधिकार पाएका छन् ।
यो निर्वाचनमा एकजना प्रदेश सभा सदस्यको मतभार ४८ रहन्छ । ८३ जनाको कुल मतभार ३ हजार ९ सय ८४ रहेको छ । स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष – उपाध्यक्ष गरी २१७ मतदाता छन । उनीहरुको कुल मतभार ३ हजार ९ सय ६ छ । प्रदेश र स्थानीय तह जोडेर कुल मतभार ७ हजार ८ सय ९० पुगेको छ । झन्डै ४ हजार बढी मत प्राप्त गर्ने उम्मेदवार बिजयी हुने देखिन्छ ।

तस्विर : शरद रेग्मी
काँग्रेससहित बिपक्षी गठबन्धनको अंकगणित
प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, पछिल्लो निर्णय समेत गरि जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन् । प्रदेशमा कांग्रेस एक्लैको मतभार ९ सय १२, माओवादी केन्द्रको पनि समान ९ सय १२, जसपा उपेन्द्र यादव र बाबुराम भट्टराई समूहको ९६ र राष्ट्रिय जनमोर्चाका ४८ गरी बिपक्षी गठबन्धन संग कुल १ हजार ९६८ मत रहेको छ।
लुम्बिनी प्रदेशमा कुल १०९ स्थानीय तह छन् । त्यसमध्ये पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
स्थानीय तहमा कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, राष्ट्रिय जनमोर्चाका ५ जतप्रतिनिधि रहेका छन् । उनीहरु एकजनाको मतभार १८ गणना हुन्छ । बिपक्षी गठबन्धनको स्थानीय तहमा १ हजार ९९८ मत छ ।
प्रदेश र स्थानीय तह गरि बिपक्षी गबन्धन संग कुल ३ हजार ९ सय ८४ मत रहेको छ । एमाले भित्रको नेपाल समुहले फ्लोर क्रस गर्ने र स्वतन्त्र जनप्रतिनिधिले पनि मत दिने बिपक्षी गठबन्धनको आशा छ ।
एमालेसहितका दलहरुको जोड घटाउ
लुम्बिनी प्रदेश सभामा एमाले एक्लैका ३८ सांसद छन् । उनीमहरुको मतभार १ हजार ८ सय २४ छ। त्यसमा जसपाको ठाकुर पक्षका चार जना मन्त्रीको मतभार थप १९० पनि थपिने आशा एमालेको छ । यो सहित एमालेको प्रदेशसभाको मतभार २ हजार १४ पुग्छ ।
त्यस्तै स्थानीय तहतर्फका २१७ मध्ये एमालेका ९४ नगर प्रमुख, उपप्रमुख , अध्यक्ष र उपाध्यक्ष छन् । उनीहरुको मतभार १ हजार ६ सय ९२ रहेको छ ।
लुम्बिनी प्रदेशको स्थानीय तहमा आफ्ना ६ जना जनप्रतिनिधि रहेका छन् । उनीहरुको मत भार १०८ हुन्छ । लुम्बिनीमा स्वतन्त्रका ४ जना, राप्रपाका २ जना र नयाँ शक्तिका एकजना जनप्रतिनिधि छन । यी सबैको योगफल १२६ हुन्छ । एमाले, जसपा ठाकुर समुह, राप्रपा, स्वतन्त्र, नयाँ शक्ति सबैको स्थानीय तहको योगफल १ हजार ९२६ हुने गर्छ । प्रदेश सभाको २०१४ र स्थानीय तहको १९२६ समेत गरि कुल योगफल ३ हजार ९ सय ४० पुग्ने गर्छ ।
यो योगफल निर्वाचित हुन अपुग नै हो । नेपाल समुहले बिपक्षी गठबन्धनलाई सघाए झनै एमाले उम्मेदवारको अंकगणित खस्कने निश्चित छ ।
यी ४ जस्ले मतदानबाट बञ्चित भए
यो उपनिर्वाचनमा चार जना सांदसले भने मतदानबाट बञ्चित हुनु पर्ने छ । माओवादी केन्द्रबाट निर्वाचित दधिराम न्यौपाने र दिनेश पन्थी पार्टीको कारबाही परी पदमुक्त रहेको हुँदा मतदान गर्न पाउने छैनन् ।
त्यस्तै दाङबाट निर्वाचित एमाले सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएको हुँदा उनले पनि मतदाधिकार पाउने छैनन् । बिपक्षी गठबन्धनका राष्ट्रिय सभाका उम्मेदवार पाण्डेले पनि पदबाट राजीनामा दिएर नेपाली काँग्रेसमा पार्टी प्रबेश गरेको हुँदा उनले पनि मतदानबाट बञ्चित रहेका छन् ।