श्रीराम दहित
घोराही, पुस ५ । भाषा संस्कृति संरक्षण गर्ने उद्देश्यले थारु कल्याणकारिणी दाङको आयोजनामा प्रदेशस्तरीय माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारी दाङको बिहीबार घोराहीमा बसेको बैठक पुस २७ र २८ मनाउने निर्णय गरेको छ । थारु कल्याणकारीका अध्यक्ष भुवन चौधरीको संयोजकत्वमा १५१ सदस्यीय माघी महोत्सव मुल आयोजक समिति तथा २५ सदस्यीय सचिवालय समितिसमेत गठन गरेको छ ।
पुस २७ गते शुक्रबार बिहान ८ बजे प्रभातफेरी गरी थारु भेषभूषा संस्कृति झल्किने झाँकीसहित नगर परिक्रमा गर्दै बिहान ११ बजे उद्घाटन हुने भएको छ । उद्घाटनपश्चात् पुस २५ गतेभित्र दर्ता भएका साँस्कृतिक टोलीको प्रस्तुति रहने भएको छ । महोत्सवमा थारु कला, संस्कृति, पोशाक, गरगहना, पुस्तक तथा थारु समुदायमा खाद्यवस्तु महोत्सव परिसरमा प्रदर्शनी र बिक्रीका लागि राखिने भएको छ ।
प्रदेश नम्बर ५ अन्तर्गतका जिल्ला थारु कल्याणकारिणी सभासँग समन्वयमा हुन गइरहेको प्रदेशस्तरीय प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रम पहिलो पटक दाङमा हुन लागेको थाकस दाङका सचिव प्रकाश चौधरीले जानकारी दिए । थारु तथा गैरथारु समुदायबीच सद्भाव बढाउने महोत्सवको अर्को उद्देश्य रहेको प्रजातान्त्रिक थारु संघ दाङका अध्यक्ष लक्ष्मीमान चौधरीले बताए ।
महोत्सवको दोस्रो तथा अन्तिम दिन थारु भाषा, संस्कृति संरक्षण तथा राष्ट्र निर्माणमा थारु अगुवाहरुको भूमिका सम्बन्धी कार्यपत्र प्रस्तुत, अन्तरक्रिया, सामाजिक, राजनैतिक शैक्षिक, कला साहित्यलगायत क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान र प्रतियोगी साँस्कृतिक सहभागीहरुलाई पुरस्कार वितरण गरिने भएको छ । बैठकमा थारु कल्याणकारिणी समितिका साथै महतावाँ, गुरुवा, थारु कलाकार समाजसेवीहरुको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण सचिव प्रकाश चौधरीले गरेका थिए ।