बर्दिया,फागुन १८ । भैंसी चराउन गएका बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० कालाबन्जरका ६५ वर्षीय लालबहादुर चौधरीको शव जंगलमा फेला परेको छ।
सोमबारदेखि हराइरहेका उनको शव जंगलमा फेला परेको हो। भैंसी गोठाला गएका उनलाई बाघले आक्रमण गरेको आशंकामा खोजी गरिएको थियो।
राजापुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष दयाशंकर थारूका अनुसार बाघले घाँटी र कम्मरलगायत शरीरका अंगमा चिथोरेको अवस्थामा शव फेला परेको थियो।
शवलाई पोस्टमार्टमका लागि लगिएको उनले बताए।
राजापुर वडा नम्बर १० का चौधरी भैंसी चराउन गेरूवा गाउँपालिका वडा नम्बर ६ स्थित बाझपुर गेरूवा पुगेका थिए।
वडाध्यक्ष थारूका अनुसार कर्णाली नदीको टापुमा भैंसी चराउँदै गर्दा उनलाई बाघले आक्रमण गरेको थियो। उनको शव सोमबार साँझ नै फेला परेको थियो।
प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार