२०८० चैत्र १६ गते शुक्रवार

जितेकाहरु अभिर जात्रामा रमाउँदा जस्ले झाडु लगाइरहेका थिए …

यमकला भुसाल

तुलसीपुर,फागुन २ । तुलसीपुर उद्योग वाणिज्य सघंको नयाँ नेतृत्व चुन्न सयौंले मतदान गरे । बिहानदेखि बेलुकीसम्म बाणिज्य संघको परिशरमा मतदाताहरुको बाक्लो उपस्थिति रह्यो ।

नयाँ नेतृत्व चुन्ने अवसर हरेक संघ संस्था र संगठनका लागि आफैंमा एउटा उत्सब समान मानिन्छ । त्यहाँ पनि त्यस्तै उत्साह र उल्लास देखिन्थ्यो ।

शनिबार बिहानै देखि सयौं संख्यामा मानिसहरु ओहोर दोहोर गरिरहेका थिए । बाणिज्य संघ जाने बाटोहरुमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको थियो ।

सडकमा सुरक्षाकर्मी तैनाथ थिए । कोही मतदान गर्न आएका, कोही हौसला थप्न अनि कोही रमिता हेर्न ।

जे होस, निर्वाचन स्थलमा ब्यापक चहलपहल थियो । आ–आफ्ना उम्मेदवारलाई जिताउन प्रचारप्रसार भइरहेका थिए । जहाँ भिडभाड त्यहाँ फोहर अनिवार्य हुन्छ ।

चियाका प्लाष्टिकका गिलास, शुद्ध प्लस जस्ता गुट्खाका खोल, चाउचाय, बिष्कुटका खोलहरु सर्वत्र छरप्रष्ट थिए । हामी कहाँ जस्ले जहाँ जुनै चिज फालेपनि कुनै फरक पर्दैन ।

त्यस्तै भिडभडाका बीच बेलुका झन्डै ७ बजेतिर मतदान सकियो । त्यसपछि राति ११ बजेदेखि मतगणना सुरु भयो ।

आइतवार बिहान लगभग ९ बजेतिर मतगणना पनि सकियो । अनि चुनाव जितेकाहरु खुसीयाली मनाउन ब्यस्त बने ।

बाणिज्य संघ परिशर पर्चा पम्पिलेटले भरिए । संघको परिशर मात्रै हैन, आसपासका सडकको अवस्थापनि त्यस्तै पर्चा पम्पिलेटले भरिएको थियो ।

त्यो फोहरको वास्ता कसैले गरेन । चुनाव सकिएको लामो समयसम्म पनि सरसफाईमा कसैको ध्यान गएन । तर, एकजना महासचिव पदका स्वतन्त्र उम्मेदवार केशवराज केसीले त्यो सबै देखेर टुलु–टुलु हेरेर बसिरहन सकेनन् ।

अनि उनले झाडु समाते । सडक सफा गर्न आफैं तम्सिए । चुनाव जितेकाहरु नजिकै जिन्दाबादका नाराहरु अभिर जात्राका साथ गरिरहेका थिए । तै केशब भने झाडुले फोहर सफा गरिरहेका थिए ।

तुलसीपुर नगर जेसिज वर्ष २०२१ का महासचिव समेत रहेका केसी मानिसले आफुले गरेको फोहर आफै सफा गर्ने बानिको बिकाश नगर्दा सम्म कुनैपनि ठाउँ सफा सुग्घर बन्न नसक्ने विश्वास गर्छन ।

केशीलाई नियाली रहेका सर्वसाधारण मानिसहरु गाँईगुँई गर्दैै थिए,‘यो हो संस्कार भनेको, युवा भनेको यस्तो पो हुनुपर्छ ।’

 

 

प्रकाशित मिति : २०७७ फाल्गुन २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *