तुलसीपुर ,माघ २९ ।दाङको गढवामा भाइले चलाएको गोली लागेर सहोदर दाजुको मृत्यु भएको छ ।
सिकार खेल्न गएका गढवा गाउँपालिका वडा नं.२ चिमचिमे तिलतिले डाँडाका २७ बर्षीय भाइ सूर्यबहादुर राना थापा मगरको गोली प्रहारबाट ३९ बर्षीय दाजु इन्द्रबहादुर थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता मुकुन्द्रप्रशाद रिजालले जानकारी दिए ।
डिएसपी रिजालका अनुसार माघ २७ गते दिउँसो साढे २ बजेतिर दाजु भाइ मिलेर स्थानीय जंगलमा भरुवा बन्दुकसहित सिकार खेल्न गएका थिए ।
प्रहरीका अनुसार जंगली जनावर आएको संझने भाइ सूर्यबहादुरले चलाएको गोली दाजु इन्द्रबहादुरको बायाँ हातको काखीमुनी लागेपछि इन्द्रबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीले घटनास्थलबाट एक नाल भरुवा बन्दुक बरामद भएको र भाइ सूर्यबहादुरलाई पक्राउ गरिएको जानकारी दिएको छ ।
सूर्यबहादुरलाई कतब्र्य ज्यान कसुरमा मुद्दा चलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रहरीले इन्द्रबहादुरको शब बिहीवार मात्रै पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याइएको जनाएको छ ।